रेडपाण्डा तथा थार महोत्सव सकियो

वैशाख २, २०८२

डम्बरसिं राई

Redpanda and Thar festival is over

खोटाङ — रेडपाण्डा तथा थार महोत्सव समापन भएको छ । मुन्दुम भ्रमण वर्ष २०२५ को अवसर पारेर सोमबार हुर्लुङमा सुरु महोत्सव मंगलबार समापन भएको हो ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले उक्त महोत्सव आयोजना गरेको हो । महोत्सवको अवसरमा रेडपाण्डा तथा थार ट्रेलको उद्घाटन र नक्सासमेत सार्वजनिक गरिएको छ । ट्रेलको कलाकार दयाहाङ राईले उद्घाटन गरेका हुन् ।

महोत्सवमा विभिन्न समुदायका संस्कृति झल्किने सांस्कृतिक झाँकी, रैथाने खानपान, भेषभूषासहित छुट्टाछुट्टै स्टल राखिएको थियो । महोत्सवमा राई, शेर्पा, तामाङ, गुरुङ, मगर, नेवार, ब्राम्हण, क्षेत्री लगायतको स्टल राखिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार राई, विश्लेषक हरि रोका, पूर्व सांसद टंक राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully