ताप्लेजुङ — २०८१ सालमा पाथीभरामा २ लाख २१ हजार ६ सय २ तीर्थयात्रीले दर्शन गरेका छन् ।
गाडीबाट उत्रिएर ५ किलोमिटर उकालो यात्रा गर्नुपर्ने र ३ हजार ७ सय ९४ मिटर उचाईसम्म पुग्नुपर्ने पाथीभरामा एक वर्षमा दुई लाख बढीले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको हो ।
कात्तिक महिनामा सबैभन्दा बढी र साउनमा सबैभन्दा कम दर्शनार्थी पुगेको समितिको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार साउनमा एक हजार नौ सय ५५ र कात्तिमा ६१ हजार एक सय ७३ जना पुगेका छन् ।
८१ साल सुरु भएको महिना बैशाखमा ५१ हजार ८ सय ४ जना पुगेका थिए भने अन्तिम महिना चैतमा ४० हजार ४ सय ३५ जना पुगेका थिए ।
दर्शनार्थीहरुबाट ३ करोड ५ लाख ५६ हजार १२ रुपैयाँ भेटी संकलन भएको कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए । सबैभन्दा बढी बैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ संकलन हुँदा सबैभन्दा कम असोज महिनामा ४ लाख ११ हजार १ सय ५१ रुपैयाँ संकलन भएको छ ।
