उदयपुर — उदयपुरको बेलका नगरपालिका–८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा रहेको १२० केजी गाँजा बरामद गरिएको छ । ६ ओटा बोराभित्र प्लास्टिकमा लुकाएर राखिएको गाँजा सोमबार बिहान प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो । गाँजा कारोबारीमा संलग्नको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले बताए ।
दुई साताअघि सशस्त्र प्रहरीले बेलका नगरपालिका–६ असारे मूर्तिखोलाबाट ८९१ केजी गाँजा बरामद गरेको थियो । बेलका नगरपालिकाको वडा नं. ६, ७ र ८ को बाटो हुँदै गाँजा कारोबारीले ओसारपसार गर्दै आएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
