पाँचथर — गत असोज १२ गते आएको बाढीले बगाएको मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई छुट्याएर बग्ने हेवा खोलामा बेलिब्रिज राख्ने जग निर्माण थालिएको छ । पुल बगेको ७ महिनापछि बेलिब्रिज राख्न जग र बाटो निर्माण लगायतका कामले गति लिएको हो ।
पाँचथरको फालेलुङ, याङवरक र हिलिहाङ हुँदै सिंगो ताप्लेजुङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने हेवा खोलाको बेलिब्रिज बगेपछि हृयुम पाइप राखी सवारी र ढुवानीका साधन वारपार गराँइदै छ ।
सडक डिभिजन इलामले बोलपत्र आहृवान गर्दै बेलिब्रिज राख्ने कामका लागि प्रक्रिया अगाडि बढाएको छ । यहाँ बेलिब्रिजको बेस राख्नका लागि मात्रै ३ करोड ४९ लाख ३ सय ३६ रुपैयाँ खर्च गरेर बेस निर्माण थालिएको इञ्जिनियर मुकेश भुसालले जानकारी दिए । बेस निर्माणपछि हेटौंडाबाट ७० मिटर लामो बेलिब्रिज ल्याएर जडान गर्ने तयारी छ ।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले ढिलै भए पनि बेलिब्रिज राख्ने बेस निर्माण गर्न थालिएकामा खुशी व्यक्त गरे । आँउदो वर्षा अगावै पुल सक्नुपर्ने उनको धारणा छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले कामलाई तीव्र रुपमा अगाडि बढाउन व्यवसायी र कार्यन्वयनको जिम्मेवार सडक डिभिजन इलामसँग निरन्तर संवाद भइरहेको बताए । यही गतिमा काम अघि बढाउने हो भने असार १५ सम्ममा बेलिब्रिज हाल्ने काम सकिने उनको अपेक्षा छ ।
हेवा खोलामा निर्मित मोटरएबल पक्की पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि २९ दिन लगाएर २ करोड लागतमा जोडिएको बेलिब्रिज पुनः गत असोज १२को बाढीले बगाएपछि यहाँ दोस्रो पटक बेलिब्रिज राख्न थालिएको हो ।
