धरान — धरान उपमहानगरपालिकामा धरान रोजगार मेला-२०८२ हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै मेयर हर्क साम्पाङले रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले वैशाख ११ र १२ गते पब्लिक हाइस्कुलको खेल मैदानमा मेला आयोजना हुने बताए ।
नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउन मेलाको आयोजना गर्न लागिएको साम्पाङले बताए । विद्यार्थी तथा युवालाई वृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकताअनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने उनको भनाइ छ ।
रोजगार मेला धरान उपमहानगरको आयोजना र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा हुने भएको छ । मेलामा करिब ५ हजार जनाको सहभागिता रहने अनुमान छ । मेलाका माध्यमबाट करिब ५ सय युवा जनशक्तिले रोजगार पाउने उपमहानगरले अनुमान गरेको छ ।
