एउटै पालिकामा आधा दर्जन ताल : संरक्षण अभावमा बेहाल

चैत्र ३१, २०८१

रमेशचन्द्र अधिकारी

Half a dozen lakes in the same municipality: poor due to lack of protection

धनकुटा — वरिपरि हरियाली वन र छेवैमा आकर्षक तालमा बोटिङ गर्ने र रमाउँदै तस्बिर खिच्ने पनि उत्तिकै भेटिन्छन् । धनकुटाको चौबिसे गाउँपालिकाको मुकाम राजारानी बजारसंगै रहेको मावारक वा रानी तालको दृष्य हो यो । 

यो ताल यहाँको मुख्य गन्तव्यस्थल समेत हो । लिम्बू भाषामा रानीताललाई मावारक र राजाताललाई पावरक भनिन्छ। लिम्बू भाषामा ‘पा’ र ‘मा’ भन्नाले बुवा र आमा तथा वारकलाई बस्ने ठाउँ भनिने, त्यही आधारमा यी तालहरूको नामाकरण भएको मावरक रानी ताल संरक्षण समितिका अध्यक्ष टेकरत्न चेम्जोङले बताए।

यी दुई तालमध्ये रानी ताललाई संरक्षण प्रयास गरिएको छ । तर, छेवैमा रहेको राजा अर्थात् पावारक तालको भने संरक्षणको कार्य भएको छैन। विगतमा पनि हालको राजारानी बजारका उत्तर र दक्षिण क्षेत्रमा दुई वटा ताल रहेको स्थानीय बताउँछन् । वि.सं.१८६२ सम्म राजारानी क्षेत्रमा विशाल ताल रहेपनि पछि दक्षिणतर्फको गल्छी फुटेर पानी बाहिरिएको थियो। यी नै दुई तालको नामबाट राजारानी बजारको नामाकरण भएको हो।

चौबिसे गाउँपालिका-६ स्थित रानी ताल व्यावस्थापनका लागि २०६३ सालमा निजी स्वामित्वमा रहेको १ सय ५० रोपनी क्षेत्रफल संरक्षण गरिएको थियो । तर, रानी तालबाट करिब दुई सय मिटर दुरीमा रहेको राजा ताल भने अलपत्र अवस्थामा छ । उक्त ताल क्षेत्रलाई बृहत् पर्यटकीय क्षेत्र बनाउन सहमति जुट्न नसकेको चौबिसे पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष राजकुमार चेम्जोङले बताए ।

Half a dozen lakes in the same municipality: poor due to lack of protection

पाँच सय रोपनी क्षेत्रफलको राजा ताल भने संरक्षण नहुँदा दलदल अवस्थामा रहेको छ । केही भागमा खेल मैदान छ । यसअघि पैसठ्ठी घरधुरीको जमिनलाई सहकारीमा कायम गरेर रानी ताल क्षेत्रको बृहत बिकासका लागि गाउँपालिकाले डीपीआर गरेको थियो। तर, अहिले भने त्यही जग्गामा प्लटिङ भइरहेको छ।

उसो त चौबिसे गाउँपालिकामा यी दुई सहित आधा दर्जन ताल संरक्षणको पखाईमा रहेका छन् । निजी स्वामित्वमा रहे पनि व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनमा आउन नसक्दा अधिकांश तालको प्रवर्द्धन हुन सकेको छैन । चौबिसे गाउँपालिका-२ को शौरे बजारसंगै रहेको धप्पड ताल तथा टिठुङ ताल पनि संरक्षणको पर्खाइमा छन्। गाउँपालिकाले गत वर्षबाट चार करोडको लागतमा ५२ रोपनीमा फैलिएको धप्पड ताल संरक्षणको काम सुरु गरेको छ ।

यसबाट ताल संरक्षणको लागि पर्खाल तथा पहुँच मार्ग समेत निर्माण गरिएको पालिकाले जनाएको छ । तर, संगै रहेको टिठुङ ताल भने बजेट अभावका कारण संरक्षण गर्न नसकिएको पालिकाका अध्यक्ष राजकुमार चेम्जोङले बताए। उनले भने, ‘संरक्षणका लागि बजेट आवश्यक पर्छ । सबै कुरा एकैपटक गर्नलाई गाउँपालिकासँग बजेट छैन।'

एउटै वडा भित्र तीन ताल

चौबिसे गाउँपालिका-१ को एउटै वडामा तीन वटा ताल छन्। जसमध्ये सबैजसो तालको संरक्षण हुन सकेको छैन । सानोमुक्तरामा रहेको काँगडा ताललाई पर्यटक आकर्षणको लागि केही प्रयास भएपनि अन्य ताल संरक्षण हुन सकेको छैन । व्यक्तिको नाममा रहेको करिव ४० रोपनी क्षेत्रफलमा फैलिएको काँगडा ताल २ वर्ष अघिबाट संरक्षण थालिएपनि थप बजेट अभावमा पुर्वाधारको काम हुन नसकेको पालिका उपाध्यक्ष टंकमाया पाङ्मी मगरले बताइन् । तालको बीचमा कन्या मन्दिर र वरिपरि चिया बगान तथा जंगलले गर्दा तालस्थल मनोरम देखिन्छ । 

उता, स्याङ्दन गाउँमा दुई सय रोपनीमा फैलिएको रानी पोखरी ताल पनि अलपत्र अवस्थामा छ । उक्त ताल रहेको जग्गा समेत ब्यक्तिको नाममा रहेको छ । आंशिक मात्र खेतीपाती गरिएको र अधिकांश ताल क्षेत्र सिमसार अवस्थामा छ । तालको संरक्षण अभावमा पानीको सतह वनस्पतिले ढाकेको छ ।

Half a dozen lakes in the same municipality: poor due to lack of protection

तालको संरक्षण गर्न ब्यक्तिका जमिनलाई सहकारीमा लाने प्रक्रियाको सुरु गरी ताल निर्माणको काम अघि बढ्नेक्रममा रहेको पालिका अध्यक्ष चेम्जोङको भनाई छ । वडा न १ कै छ नम्बर बुधबारे बजारको पूर्वतर्फ करिव ४० रोपनी क्षेत्रफलमा गडेरे ताल फैलिएको छ । जुन ताल पनि उचित संरक्षण अभावमा दलदलमा अवस्थामा सीमित छ ।

उक्त तालमा रहेको जग्गा समेत व्यक्तिका नाममा छ । जग्गाधनीले केही वर्ष पहिले तालका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेपनि तालको आम्दानीका विषयमा सहमति नहुँदा अन्यौल अवस्थामा रहेको वडा अध्यक्ष देवेन्द्र श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘पानी र जमिन खेर जान नदिन पर्यटन पूर्वाधार र माछा पालन गरिने सोचमा छौँ ।’ 

Half a dozen lakes in the same municipality: poor due to lack of protection

विगतमा पनि त्यहाँका तालहरुको प्रर्वद्धन गर्न खोजिएपनि पर्याप्त बजेट अभावका कारण योजना अनुरुप कार्य गर्न नसकिएको गाउँपालिकाका निर्वतमान अध्यक्ष खजिन्द्र राईले बताए । तालहरु पुग्न समेत यातायात सहज बनेको छ । भेडेटार–रवी–राँके लोकमार्ग र पहुँच मार्गले अधिकांस ताललाई जोडेको छ । तर, प्रदेश तथा संघीय सरकारको उचित चासो जान नसकेको स्थानीय मदन मगरले गुनासो पोखे। 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully