नेपालमा मोटरसाइकल चोरी, भारतमा बिक्री

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Motorcycle theft in Nepal, sale in India

विराटनगर — नेपालमा मोटरसाइकल चोरी गरी भारतमा बिक्री गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । श्रृंखलाबद्ध रूपमा मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य व्यक्ति विराटनगर–१७ निवासी २४ वर्षीय नौसाद अन्सारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका अर्का व्यक्ति सोही ठाउँका १७ वर्षीय मोहम्मद सोयल आलम रहेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार नौसाद यसअघि पनि चोरी आरोपमा पक्राउ परिसकेका पटके अभियुक्त हुन्।

प्रहरी अनुसन्धानबाट नौसादले चालु चैत्र महिनाभरिमा मात्रै ११ वटा मोटरसाइकल चोरी गरेर भारतमा बिक्री गरेको खुलेको छ। तीमध्ये ६ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने बाँकी ५ वटा भारत–नेपाल सीमा क्षेत्र दरैया र टिकुलियाबाट बरामद गरिएको छ।

चोरी गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगञ्ज हुँदै भारतीय सीमावर्ती बजार कटिहारतर्फ पुर्‍याउने गरिएको खुलेको छ। ती सवारी साधनहरू भारतीय बजारमा अवैध घरेलु मदिरा ओसारपसार जस्ता गैरकानुनी क्रियाकलापमा प्रयोग हुने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Motorcycle theft in Nepal, sale in Indiaमोटरसाइकल चोरीका घटना बढेसँगै जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अनुसन्धान टोली परिचालन गरेको थियो। विभिन्न सार्वजनिक स्थानमा जडान गरिएका सिसी टिभीको सहायताले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिन सफल भएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार चोरी गरिएको मोटरसाइकलको नम्बर प्लेट फालेर भारत लैजाने गरिएको खुलेको छ ।

'पुराना मोडेलका मोटरसाइकलको लक सजिलै फोड्न सकिने भएकाले त्यही प्रकारका मोटरसाइकलहरू लक्षित गरिएको पाइयो,' डीएसपी जोशीले भने। चोरीपछि नौसादले केही मोटरसाइकल धनीलाई फोन गरेर फिरौतीसमेत मागेको पनि खुलेको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully