संखुवासभा — योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको परिषद् (सिनेट) बैठकले सदस्य डाक्टर विमला राई पौडेलको संयोजकत्वमा ३ सदस्य उपकुलपति र रजिस्ट्रार नियुक्ति गर्ने सिफारिस समिति गठन गरेको छ ।
मंगलबार खाँदबारीमा बसेको ३१ सदस्यीय समितिले उपकुलपति र रजिस्ट्रार नियुक्ति गर्ने समिति गठन गरेको अध्यक्ष अर्जुन कार्कीले बताए ।उनका अनुसार विश्वविद्यालयको केन्द्रीय कार्यालय र अन्य पूर्वाधार बनाउने जिम्मा पनि पुल्चोक इन्जिनियरिङ संस्थालाई दिने निर्णय गरिएको छ । समितिको सदस्यमा प्राध्यापक देवबहादुर रोक्का क्षेत्री र प्रोफ्रेसर विशाल सिटौलालाई जिम्मेवारी दिइएको छ ।
बैठकले विश्वविद्यालय पूर्वाधार बनाउने जिम्मा विश्वविद्यालयको पुल्चोक इन्जिनियरिङ संस्थालाई दिने निर्णय गरेको छ ।
बैठकको पूर्वसन्ध्यामा मंगलबार खाँदबारीमा विश्वविद्यालयले सरोकारावालासँग छलफल गरेको थियो । सोही छलफलको आधारमा बैठकले यस्तो निर्णय गरेको अध्यक्ष कार्कीले बताए । विश्वविद्यालयको केन्द्रीय कार्यालय जिल्ला समन्वय समितिको भवनमा करिब २ महिना अघि खुलिसकेको छ ।
