कोशी टप्पु, सुनसरी — सुनसरी, सप्तरी र उदयपुर जिल्लाको संगममा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष हाल चराहरूको लागि ‘वर्ड सेन्चुरी’ जस्तै बन्दै गएको छ । यस क्षेत्रलाई ‘चराको राजधानी’ भनेर चिनिन्छ ।
‘मिडविन्टर वाटर बर्ड सेन्सस २०२५’ को नतिजाबाट त्यो पुष्टि भएको छ । किनकि यस वर्ष आरक्ष र कोशी नदी क्षेत्रमा ३ हजार ७ सय २३ चरा थपिएका छन् । अब कोशीमा चराको प्रजाति ७६ पुग्यो भने संख्या ९ हजार २ सय ५० ।
कोशी पन्छी समाजका अध्यक्ष चक्र तिम्सिनाका अनुसार सुरक्षित बासस्थान, पर्याप्त आहाराको उपलब्धता र संरक्षणका गतिविधिहरुले चराको संख्या बढ्न सघाउ पुगेको हो । ‘कोशी टप्पुमा चराको बढ्दो संख्याले संरक्षणका प्रयास सफल भएको देखाएको छ’, उनी भन्छन्, ‘तर, दीर्घकालीन रूपमा यसलाई कायम राख्न जनसहभागिता, अनुसन्धान र सरकारी नीतिगत जरुरी छ ।’
अहिलेको जस्तै संरक्षणको लय कायम रहेमा कोशी टप्पुलाई अन्तर्राष्ट्रिय स्तरमा ‘बर्ड सेन्चुरी’ को रूपमा विकास गर्न सकिने पन्छी विज्ञहरूले बताएका छन् । सन् १९८७ देखि नै यहाँ चराहरूको नियमित गणना हुँदै आएको छ । जसले विश्वव्यापी पन्छी संरक्षण अध्ययनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
चराका खोजकर्ता देवेन खरेलका अनुसार कोशी टप्पु केवल जैविक विविधताको प्रतीक मात्रै हैन, यो त भविष्यमा अन्तर्राष्ट्रिय पन्छी अवलोकन केन्द्रको रूपमा विकसित हुने सम्भावना बोकेको क्षेत्र पनि हो । ‘संरक्षणमा स्थानीय जनसहभागिता र वैज्ञानिक अध्ययनको निरन्तरता कायम रहन सकेमा, यो सम्भावना एक दिन यथार्थमा बदलिन सक्नेछ’, खरेल भन्छन् ।
आरक्षण अधिकारीहरूका अनुसार कुल चरामध्ये चखेवा सबैभन्दा धेरै १ सय ६८ वटा छन् । कोशी टप्पुमा दुर्लभ प्रजातिका सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद, फुस्रो टिकटिके पनि पहिलो पटक देखा परेका छन् ।
चरा तथा पन्छी संरक्षण समाजका अनुसार सुरक्षित बासस्थान र पर्याप्त आहाराका कारण कोशी टप्पुमा चराको संख्या थपिएको हो । यहाँ चराका लागि पर्याप्त सिमसार क्षेत्र पनि छ ।
यहाँ करिब ५० प्रजातिका बटुवा चरा बसोबास गर्छन् भने चितवन, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल जस्ता क्षेत्रहरूसँगै यो पनि महत्त्वपूर्ण पन्छी आवास क्षेत्र मानिन्छ ।
यद्यपि चराको संख्या बढेको छ, तर दुर्लभ प्रजातिहरू (जस्तै सेतोकण्ठे गरुड) अत्यन्तै कम भेटिएका छन्। विशेषज्ञहरूले यस क्षेत्रलाई प्रदूषण, मानवीय दखल र जलवायु परिवर्तनबाट जोगाउन अपिल गरेका छन् ।
