उदयपुर — इलाका प्रशासन कार्यालय कटारीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । २०६९ सालमा स्थापना भएदेखि भाडामा सञ्चालन हुँदै आएको कार्यालयले सोमबार देखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको हो ।
संघीय सरकारअन्तर्गत गृह मन्त्रालयको ५ करोड ६३ लाख २० हजार बजेटबाट कटारी नगरपालिका-३ गौथलीचौकमा कार्यालयको लिफ्टसहितको तीनतले अत्याधुनिक भवन निर्माण गरिएको छ ।
बहुवर्षीय ठेक्काअन्तर्गत मिसन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि बानेश्वर, काठमाडौंले २ वर्षमा भवन निमार्ण सम्पन्न गरी हस्तान्तरण गरेपछि सेवा सुरु गरिएको कार्यालय प्रमुख कोपिला राईले बताइन् । सोमबार कार्यालयमा सेवा लिन आएका उदयपुरगढी गाउँपालिका-१ तावाश्रीका छत्रबहादुर राई र उदयपुरगढी गाउँपालिका-२ बर्रेका रिकेश तामाङलाई सम्मान सहित सेवा सुरु गरिएको उनले बताइन्
जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारमा अवस्थित कार्यालयबाट पश्चिमी भेगका सेवाग्राहीलाई प्रशासनिक सेवा दिइँदै आइएको छ । इलाका प्रशासन कार्यालयले कटारी नगरपालिका, ताप्ली गाउापालिका र उदयपुरगढी गाउँपालिकाको १, २ र ३ नं. वडाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।
नागरिकता वितरण, राहदानी, जिल्ला प्रशासनमा दर्ता हुने विभिन्न संघसंस्थाको नवीकरण, सिफारिसलगायतका सेवा दिँदै आएको प्रमुख राईको भनाइ छ । महिलामैत्री, अपाङ्गतामैत्री तथा सेवाग्राहीमैत्री भवनबाट सेवा लिन पाउँदा खुसी लागेको उदयपुरगढी गाउँपालिका-१ तावाश्रीका छत्रबहादुर राईले बताए ।
