चैते दसैंको नौरथमा पाथीभरामा १६ हजार ५ सय तिर्थयात्री

चैत्र २६, २०८१

आनन्द गौतम

16 thousand 500 pilgrims on Pathibhara in Naurath on Chaite Dasain

ताप्लेजुङ — चैते दसैंको नौरथमा पाथीभरामा १६ हजार ४ सय ७९ जना तिर्थयात्रीले भ्रमण गरेका छन् । पर्यटन प्रहरी कार्यालय काफ्लेपार्टीका अनुसार यो अवधिमा पाथीभरा आउने तिर्थयात्री पुरुषको तुलनामा महिला बढी रहेका छन् ।

छिमेकी देश भारतबाट ४ सय ५५ जना आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोहितकुमार शर्माले जानकारी दिए ।

चैत १८ देखि २५ गतेसम्म महिला ८ हजार २ सय ९२ र पुरुष ८ हजार १ सय ८७ जना आएको तथ्यांकमा उल्लेख छ । पर्यटन प्रहरी सहायता कक्ष पाथीभरा क्षेत्रको काफ्लेपार्टीमा रहेको छ । 

पाथीभरा पुगेका तिर्थयात्रीमा सबैभन्दा धेरै झापा, मोरङ, सुनसरी र काठमाडौंका छन् । धेरै तिथैयात्री आउने यो समयमा सदरमुकाम फुङलिङदेखि पाथीभरा मन्दिरसम्म हेल्प डेस्क राखिएको थियो । 

हेल्प डेस्कमार्फत पाथीभरा क्षेत्रमा लेक लाग्न नदिने औषधि उपलब्ध गराउने, हिँड्न नसक्नेका लागि भरिया व्यवस्थापन गर्ने लगायतका सहजीकरण गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully