ताप्लेजुङ — हृदयघातजस्ता आपतकालीन स्वास्थ्य समस्यामा प्रयोग हुने स्वचालित बाहृय डिफिब्रिलेटर (एइडी) मेसिन जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ ।
कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रनाम जयरुलाई मेसिन हस्तान्तरण गरेका हुन् ।
यो मेसिन संघीय सरकारले उपलब्ध गराएको हो । डाक्टर जयरुका अनुसार यो आकस्मिक उपचारमा चाहिने अत्यावश्यक मेसिन हो ।
‘मुटुको धड्कन बन्द हुँदा, पल्स छैन भने यो मेसिनको प्रयोग हुन्छ,’ डाक्टर जयरुले भने, ‘इमरजेन्सीमा अत्यावश्यक मेसिन प्राप्त भयो ।’
मन्त्री हाङ्गामले संघीय सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई यो मेसिनको प्रस्ताव गरेका थिए । पौडेलसँगको समन्वयमा प्राप्त मेसिन आफैंले बुझेर ल्याएर अस्पताललाई हस्तान्तरण गरिएको मन्त्री हाङ्गामको सचिवालयले जनाएको छ ।
