रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते

चैत्र २५, २०८१

रासस

12 people injured after being bitten by a rabid dog

झापा — कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार अनुसार वडा नं. ६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको संख्या १२ पुगेको हो ।

घाइते हुनेमा चार वर्षीया बालिकासहित चार जना महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उनले बताए। कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ ।

उनले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताए। 

पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज विहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताए। 

रासस

Link copied successfully