डढेलोले सिकैचामा गोठ जल्यो, भेडा घाइते

चैत्र २३, २०८१

आनन्द गौतम

The fire burnt the shed in Sikaicha, injured the sheep

ताप्लेजुङ — सिरिजङ्गा गाउँपालिका–३ सिकैचामा लागेको डढेलोले गोपाल विष्ट 'अन्तरे' को भेडीगोठ जलेको छ । डढेलोबाट भेडाहरू घाइते भएका तर संख्या यकिन भइनसकेको विष्टले बताए ।

गोठमा रहेका लत्ताकपडा, चामल, दाल, ठेकीलगायत सम्पूर्ण सामग्री जलेको उनले जानकारी दिए।


'म फावाखोला घरमा आएको थिएँ, आज (शनिबार) दिउँसोको डढेलोले गोठ भेटेछ,' विष्टले भने, 'घाइते भेडालाई औषधि लिएर जाँदैछु, कति क्षति भयो भन्ने अहिले यकिन छैन।'


गोठमा रहेका दूध दोहन गर्ने दुधेरो, ठेकी, सोलार प्यानल लगायतका सामग्री जलेर करिब २ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान विष्टले गरेका छन्। हराएका र घाइते भेडा फेला परेपछि मात्रै पशु क्षतिको विस्तृत विवरण आउने उनले बताए। उनको गोठमा करिब तीन सय भेडा थिए।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully