पाथीभरामा यो वर्षकै धेरै तीर्थयात्री

चैत्र २३, २०८१

आनन्द गौतम

Many pilgrims this year in Pathibhara

ताप्लेजुङ — पाथीभरामा आज यो सिजनकै धेरै तीर्थयात्री आएका छन् । नौ रथको महाअष्टमीका दिन ७ हजार ५ सयभन्दा बढी तीर्थयात्री मन्दिर क्षेत्रमा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।

पाथीभराका कर्मचारी राजेन्द्र महतका अनुसार बिहान ३ बजेदेखि लाइन लगाएर पूजा गराउने क्रम चलिरहेको छ । यो भीड कम हुन दिउँसो २ बज्ने उनले बताए । 'बिहान पूजा गर्नेहरु फर्कंदै हुनुहुन्छ,' राजेन्द्रले भने, 'आउनेहरु सदरमुकाम फुङलिङबाट बिहान ८ बजेसम्म पनि त्य त्तिकै आइरहनु भएको सूचना छ ।'

भोलि नवमीका दिन अझ धेरै आउने अपेक्षा गरिएको कार्यकारी निर्देशक हाङवाङ बताउँछन् । तीर्थयात्रीको सहजताका लागि समितिका सबै कर्मचारी पाथीभरा क्षेत्रमा परिचालन गरिएको र आवश्यक सहयोग गरिरहेको हाङवाङले बताए ।

क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवे बन्द हड्ताल लगायतका कुनै पनि कार्यक्रम नभएकाले पाथीभरा आउने योजना भएकाहरुलाई ढुक्कले आउन अनुरोध गरेका छन् । पाथीभरामा चैत-वैशाख तथा असोज र कात्तिकमा अत्यधिक भीड लाग्ने गरेको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully