संखुवासभा — संखुवासभामा वार्षिक रुपमा ७० प्रतिशत गर्भवती सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय संखुवासभाले बुधबारबाट मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम सुरु गरेको घोषणा गर्दै ४० वटा बर्थिङ सेन्टरमा ७० दशमलब ४ प्रतिशत गर्भवती सुत्केरी हुन स्वास्थ्य संस्था पुग्ने गरेको जनाएको हो ।
वार्षिक रुपमा ३ हजार ३५ जना गर्भवती हुने भए पनि स्वास्थ्य संस्थामा ४ पटक गर्भवती जाँच गर्ने भने ६१ प्रतिशतमात्रै रहेको सुरक्षित मातृत्व कार्यक्रम प्रमुख भवानी तिम्सिनाले बताइन् । बितेको ३ वर्षमा सखुवासभामा सुत्केरी हुने क्रममा कुनै पनि आमाको मृत्यु नभएको स्वास्थ्य कार्यालयको दाबी छ ।
कोशी प्रदेशमा प्रति एकलाख सुत्केरी आमामध्ये वार्षिक रुपमा १ सय ५७ जनाले ज्यान गुमाउने गरेका छन् । मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम टोलटोलसम्म पुर्याउने र मातृ तथा शिशु मृत्युदर घटाउने क्षेत्रीय निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
उनका अनुसार प्रति हजार जीवित शिशुमा २१ जनाको मृत्यु हुने गरेको छ । स्थानीय तहसँग समन्वय गरेर तल्लो वर्गसम्म पुग्ने भएकाले प्रभावकारी हुने उनले बताए ।
