विराटनगर — विराटनगरका पारुल क्षेत्री पुराना कम्युनिस्ट कार्यकर्ता हुन् । जसको राजनीतिमा राम्रै छवि थियो । तर, अहिले उनले राजनीति छोडेर आफ्नो ध्यान पर्यावरण र महानगरको हरियालीमा केन्द्रित गरेका छन् । विराटनगरलाई हरियाली बनाउने अभियानमा उनले अरु धेरै सर्वसाधारणलाई समावेश गरेका छन् ।
केही वर्षअघिसम्म विराटनगर हराभरा थियो । जब ६ लेनको चौडा कालोपत्र सडक बन्यो । तब वर्षौं पुराना रुख काटिए । गर्मीका बेला शीतलता दिने छहारी मासियो ।
पारुलले सुरुमा १ हजार बिरुवा रोप्ने योजना साथ फेसबुक स्टाटस लेखेका थिए, ‘सुन्दर सफा विराटनगर, १ हजार बिरुवा रोप्ने अभियान’ भनेर । उनको स्टाटस पढेपछि नै धेरै सर्वसाधारण स्वत:स्फूर्त रूपमा जोडिन थालेका हुन् ।
एक समय राजनीतिमा उनको नाम र प्रतिष्ठा थियो । तर अहिले उनले यो सब बिर्सेर जीवनलाई अर्को उद्देश्यमा लगाएका छन् । मानिसहरूले राजनीतिभन्दा बढी प्रकृतिको हेरचाहमा ध्यान दिनु पर्छ भन्ने उनको मान्यता छ । निजी जमिनमा ‘फुट फोरेस्ट’ जस्तो सिर्जनात्मक अवधारणासँगै रुख र बिरुवा रोप्ने अभियानमा जुटेका उनी डेढ वर्षयता भने महानगरका राजमार्गमा दायाँबायाँ रुख रोप्ने अभियानमा सक्रिय छन् । ‘हाम्रो यो अभियानले नगरलाई वातावरणीय दृष्टिले हरियाली र सफा मात्रै बनाएको छैन, नागरिकहरूलाई पनि प्रकृति र वातावरणको महत्त्व बुझाएको छ,’ क्षेत्री भन्छन् ।
यो अभियानको नाम ‘हरियाली समूह’ हो । समूहमा दर्जनौँ सर्वसाधारण जोडिएका छन् । यो अनौपचारिक फोरम हो । जोडिन चाहनेहरू स्वत:स्फूर्त रूपमा जोडिन सक्छन् । रुख रोप्ने कर्ममा सहयोग गर्न सक्छन् । त्यसैमध्येका अर्का अभियन्ता हुन् उज्ज्वल भट्टराई । उनी अपराह्न ४ नबज्दै बरगाछी आसपास पुगिसक्छन् । सबै भेला भएपछि रुख रोप्ने अभियानमा जुट्छन् । कोही खाल्डो खन्छन् त कोही खाल्डोमा मल हाल्छन् । रुख रोपेपछि विहानको समयमा यही टोली पानी हाल्दै हिँड्छ । ‘हाम्रो उद्देश्य रुख रोपेर छाड्ने मात्रै हैन, हुर्काउनु हो,’ भट्टराईले भने, ‘१२ किलोमिटर क्षेत्रमा करिब १० हजार रुख हुर्काउने हाम्रो लक्ष्य छ ।’
महानगरको ढाटदेखि रानीसम्मको करिब १२ किलोमिटर राजमार्गको दायाँ १० हजार रुख हुर्काउने यो अभियानको योजना छ । ‘सुरुमा त हामीलाई धेरैले पत्याएका थिएनन्’, भट्टराईले सुनाए,‘अब सर्वसाधारणले यस अभियानमा विश्वास गर्न थालेका छन् । ८० प्रतिशत बिरुवामा सर्वसाधरणले पानी हाल्ने र मल हाल्ने काम गरिरहेका छन् ।’
राजमार्गमा हिँड्दा गर्मीका कारण पैदलयात्रीलाई छहारीको अभाव हुन्छ । त्यसैले, पारुल र उनका साथीको विचार मिल्यो । ‘कम्तीमा रुख रोपौं, ताकि पैदलयात्रीका लागि शीतल छहारी होस् ।’ सुरुवाती दिनमा रोपेका बिरुवा हुर्काउन कम चुनौतीपूर्ण भएन । कसैले जानाजान बिरुवा उखेलिदिने गर्थे । कसैले भाँचेर हिँड्ने गरे । कोही-कोहीले चाहिँ बिरुवा उखेलेर घरतिर लगेर हिँडे । ट्रीगार्ड लगाएपछि अलि बिरुवा जोगाउन सहज भयो । केही समय त उनीहरूले रातिसम्म निगरानी पनि गरे । ‘बिरुवा उखेलेको या भाँचेको स्थानमा फेरि रोप्छौँ,’ अभियन्ता सुनिता पौडेल भट्टराईले सुनाइन्,‘हामीले हार मानेनौँ । निरन्तर रोपिरह्यो । अहिले त अधिकांश बिरुवा हुर्किइसकेका छन् ।’
राजमार्गको मध्यभाग (डिभाइडर) मा करिब ५३ लाख लगानी गरेर फूल रोपेको छ । बेला-बेला ती फूलमा मालीहरूले पानी पनि हाल्छन् । तर, राजमार्ग दायाँबायाँका बिरुवालाई उपेक्षा गरिन्छ । ‘महानगरले गर्ने काम हामीले निःशुल्क गरिरहेका छौ’, पारुल भन्छन्,‘महानगरले अहिलेसम्म कुनै सहयोग पनि गरेको छैन ।’
सामान्यतया निम, सिसौ, मेवा जस्ता रुखहरूले सहरको ध्वनि र धूँवा र धुलोलाई सोस्ने काम गर्छ । राजमार्गमा अभियन्ताले यस्तै बोटबिरुवा रोपेका छन् । ‘१० हजार रुख हुर्काउन सकियो भने भविष्यमा १० लाखदेखि १२ लाख लिटर पानी सहजै रिचार्ज गर्न सकिन्छ’, पारुल भन्छन्,‘जसले पानीको श्रोत समेत बचाइराख्ने काम गर्छ ।’
अभियान सुरु भएपछि अचेल विराटनगरमा कतिपयले जन्मदिन, विवाह-उत्सव र अन्य विशेष अवसरमा बिरुवा रोप्ने चलन सुरु भएको छ । साथै शोकमा पनि बिरुवा रोप्ने वा बिरुवा उपहार दिने गरिन्छ । गत वर्ष विराटनगरका प्रतिष्ठित साहित्यकार दधिराज सुवेदीको निधन भएपछि उनको परिवारले विराटनगरमा वृक्षरोपण गर्यो ।
केही समयअघि दधिराजकी श्रीमतीको मृत्यु भयो । त्यसबेला पनि शोकाकुल परिवारलाई बिरुवा दिएर समवेदना ज्ञापन गरियो । ‘मान्छेको मृत्यु हुँदा सिसाको फ्रेममा समवेदना पत्र बनाएर दिने चलन छ’, पारुल भन्छन्,‘तर हामी त्यस्तो ढर्रा पार्दैनौँ, शोकाकुल परिवारलाई बिरुवा दिएर श्रद्धाञ्जली व्यक्त गर्छौं ।’
