ताप्लेजुङ — सदरमुकाम फुङलिङमा रहेको आँखा उपचार केन्द्रमा आउने दैनिक ४५ देखि ५० जनामध्ये १२ देखि १५ जनासम्म आँखा सम्बन्धी समस्याका हुने नेपाल नेत्रज्योति संघ डिचेन डोङगला आँखा उपचार केन्द्रले जनाएको छ । भर्खरै देखिन थालेकाले यो संख्या अझै बढ्ने उपचार केन्द्रको प्रक्षेपण छ ।
आँखा उपचार केन्द्रका इञ्चार्ज काजी गुरुङका अनुसार यो एक किसिमको भाइरस हो र चिसो मौषसम सकिएर तातो सुरु भएपछि देखिने गर्छ । सरुवा रोग भएकाले बालबालिका र सहरी क्षेत्रका मानिस बढी प्रभावित हुने गरेका छन् । ‘आँखा भित्रको कञ्जमटाइमा भन्ने लेयरमा हुने संक्रमण भएकाले एक सातासम्म रहन्छ,’ गुरुङले थपे, ‘यो अवधिमा निको नभए अनिवार्य आँखा जाँच गराउनु पर्छ ।’
पहुँच हुनेले सुरुमै परिक्षण गराएर औषधि लगाउँदा राम्रो हुने स्वास्थ्यकर्मीको सुझाव छ । अन्यथा सफा पानीले आँखा सफा गरिरहे पनि सुधारमा सहयोग पग्छ । यो समस्या देखिन थालेपछि आँखा बिझाउने, झिमझिम हुने, चिलाउने र रातो भएर पाक्ने जस्ता समस्या देखिन्छन् । आँखा बिझाउनासाथ यसको सरसफाइ र उपचारमा ध्यान दिन अर्का स्वास्थ्यकर्मी काजी थेबेको सुझाव छ ।
सामान्यतया सात दिनमा ठिक हुने यो समस्या त्यतिमा नभए १४ देखि २१ दिनसम्म लम्बिन सक्छ । सात दिन भन्दा बढी गए क्रस इन्फेक्सन हुने भएकाले सतर्कता अपनाउनु पर्छ । यस्तो अवस्थामा आँखा धेरै माडेमा यसको नानीमा फुलोपर्ने जोखिम धेरै हुन्छ । ग्रामीण क्षेत्रमा फोहोर पानी आँखामा लगाउदापनि संक्रमण देखिने गरेको छ । पानी उमालेर सेलाएको प्रयोग गरे राम्रो हुने सुझाव स्वास्थ्यकर्मीको छ । आँखामा निकै समस्या देखिएपछि एक दिनको दुरीमा रहेको फक्ताङलुङ, मिक्वाखोला, मेरिङदेन गाउँपालिका देखिका सेवाग्राही आएको तथ्यांक उपचार केन्द्रसँग छ ।
ताप्लेजुङमा सदरमुकाम फुङलिङ र मेरिङदेन गाउँपालिकाको दोभान बजारमा आँखा उपचार केन्द्र रहेको छ ।
