ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–४ इखावुकी दलित महिला वडा सदस्य दिलमाया विश्वकर्माको शुक्रबार निधन भएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार ६० वर्षीय विक यस अघिदेखि नै बिरामी थिइन् र उपचार पनि गराउँदै आएकी थिइन् ।
गाउँपालिकाले चैत्र १७ गते आइतबार पालिका भित्रका विद्यालय, संघसंस्था, बैंक लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय बिदा गर्ने र शोक मनाउने निर्णय गरेको छ । अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिइएको उल्लेख छ । अध्यक्ष लिम्बूले शोक सन्देश दिँदै गाउँपालिकाले कुशल, शालिन जनप्रतिनिधि गुमाएको उल्लेख गरेका छन् ।
गत शनिबार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका वडासदस्य ६७ वर्षीय पुण्यप्रसाद खतिवडाको मृत्यु भएको थियो । उनको मृत्यु भएको साता दिन नबित्दै अर्का वडा सदस्यको मृत्यु भएको हो ।
