कृषि मण्डी करिब पाँच वर्षअघि नै निर्माण सम्पन्न भएपनि गाउँपालिकाले बल्ल प्रयोगमा ल्याएको हो
झापा — बुद्धशान्ति गाउँपालिकामा निर्माण सम्पन्न भएको करिब ५ वर्षपछि कृषि मण्डी औपचारिक रुपमा सञ्चालनमा आएको छ । वडा नं ४ मा पालिकाले निर्माण गरेको कृषि मण्डी सञ्चालनका लागि शान्तिनगर कृषि सहकारी संस्थाले ठेक्का प्राप्त गरेको छ ।
शनिबारबाट औपचारिक रुपमा मण्डी सञ्चालनमा आएको हो। वार्षिक ७२ हजार रुपैयाँ पालिकालाई बुझाउने गरी सहकारी संस्थाले मण्डी सञ्चालनको जिम्मा पाएको हो।
करिब ५ वर्षअघि नै मण्डीको संरचना निर्माण भएको भए पनि सञ्चालन हुन सकिरहेको थिएन । पालिकाले ३ पटक टेण्डर आह्वान गरे पनि ठेक्का परेको थिएन । मदन भण्डारी राजमार्गको सहज पहुँच भएको टिमाई क्याम्पमा मण्डी सञ्चालनमा आएको हो । जहाँ पहिले भुटानी शरणार्थीहरुलाई राखिएको थियो ।
मण्डीमा १२ वटा सटर बनाइएको छ । जहाँ दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, मल तथा बिउ लगायत किसानले उत्पादन गरेका कृषिजन्य सामग्री राखिने सञ्चालनको जिम्मा पाएको सहकारी संस्थाका अध्यक्ष दिलनाथ काफ्लेले बताए ।
उनका अनुसार मण्डी सञ्चालन भएको स्थान इलामको रोङ गाउँपालिकाको पनि नजिकमा पर्छ भने बुद्धशान्तिका सबै क्षेत्र र मेचीनगरको पहुँच पनि सरल छ । पूर्वी पहाडी जिल्ला इलामबाट कृषिजन्य सामग्री अहिले चारआली र विर्तामोडमा ल्याइने गरिएको छ ।
सडक मार्गको सरल पहुँच भएको स्थानमा मण्डी सञ्चालन भएकाले चारआली र विर्तामोड आउने सामाग्रीहरु बुद्धशान्तिमा आउने अपेक्षा गरिएको उनले बताए । करिब डेढ विगाह जग्गामा एक करोड बढी लागतमा निर्माण गरिएको मण्डी सञ्चालन हुँदा स्थानीय किसानलाई टेवा पुग्ने गाउापालिकाका अध्यक्ष मनोज प्रसाईले बताए ।
उनका अनुसार पालिकाको वडा नं ५ र ६ मा सयौं किसानहरु व्यवसायकि कृषिमा आवद्ध छन् । उनीहरुले उत्पादन गरेका वस्तुहरु चारआली कि त विर्तामोड पुर्याउनुपर्ने अवस्था छ ।
पालिकामै कृषि मण्डी सञ्चालनमा आएपछि भने उत्पादन गरेको सामाग्री टाढा पुर्यानउनुपर्ने झन्झटको अन्त्य हुने उनको भनाई छ । स्थानीय किसान जनक भण्डारी पालिकामै कृषि मण्डी सञ्चालनमा आएकाले सयौं किसान यसबाट लाभान्वित हुने बताउँछन् ।
६० वर्षीय किसान भण्डारी भन्छन्, ‘राम्रोसाग सञ्चालनमा आयो भने खोलापारीका किसानहरुलाई अत्यन्तै सहज हुन्छ । किसानहरुलाई ढुवानीमा लाग्ने खर्च घट्छ, अहिले त चारआली पुर्याउनुपर्छ । त्यो झन्झट हट्छ ।’
