हलेसी तुवाचुङमा दुना–टपरी बनाउने तालिम

चैत्र १२, २०८१

डम्बरसिं राई

Duna-tapri making training in Halesi Tuwachung

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुरस्थित जागरण लघुउद्यमी समूहमा आवद्ध किसानलाई दुना टपरी बुन्ने सीप विकास तालिम दिइएको छ । आर्थिक आयआर्जनसँग जोड्न उक्त तालिम दिइएको हो ।

गत चैत ३ देखि १० गतेसम्म भएको तालिममा २२ जनाले तालिम लिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् । उक्त नगरपालिकाको वडा नम्बर-३ च्यास्मिटारमा पनि गत माघ १९ देखि २५ गतेसम्म सात दिनसम्मको दुना टपरी बनाउने तालिम दिइएको थियो ।

Duna-tapri making training in Halesi Tuwachungउक्त वडाका प्रगतिशील महिला आमा समूहका २५ जनाले तालिम लिएको हो । दुना टपरी तालिमले महिलाहरू आयआर्जनमा वृद्धि हुने नगरपालिकाकी प्रमुख विमला राईले बताएकी छन् । ‘महिलाहरूको आयआर्जनका लागि दुना–टपरी तालिम दिइएको हो,’राईले भनिन् । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully