दिक्तेल आँखा शिविरमा ९९ जनाको गुमेको ज्योति फिर्ता, ७१२ जनाले पाए उपचार

चैत्र ११, २०८१

डम्बरसिं राई

In Diktel eye camp, 99 people's lost sight returned, 712 people received treatment

खोटाङ — साकेला गाउँपालिका–४ मात्तिमकी ५५ वर्षीया चुना कटवालले फेरि नयाँ संसार देखिन् । तीन वर्षदेखि दुवै आँखाको ज्योति गुमाएकी  चुनाको दिक्तेलमा जारी आँखा शिविरमा चैत १० गते दुईमध्ये एउटा आँखाको मोतिविन्दुको शल्यक्रिया गरेपछि ज्योति पाएकी हुन् । 

त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी ९१ वर्षीया देवीसरा राईले पनि आँखाको ज्योति पाएकी छन् । गत सात महिनादेखि दुवै आँखाको ज्योति गुमाएकी देवीसराको पनि चैत ९ गते एउटा आँखाको शल्यक्रिया गरेपछि उनले पनि आँखाको ज्योति पाएकी हुन् । अर्को आँखाको पनि चैत ११ गते शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजूको भनाइ छ ।

उनीहरूसहित ९९ जनाको आँखा शल्यक्रिया गरेपछि ज्योति पाएका छन् । शिविरको पहिलो दिन ३५, दोश्रो दिन ३३ र तेश्रो दिन ३१ जनाको आँखा शल्यक्रिया गरी ज्योति पाएका हुन् । शिविर अवधिभर सात सय १२ जनाले सेवा पाएको कसजूले बताएका छन् । यसमध्ये पाँच सय ७० जनाले नि:शुल्क औषधि, दुई सय दुई जना जेष्ठ नागरिकले निःशुल्क चस्मा र आँखा शल्यक्रिया गरेका ७३ जनालाई कालो चस्मा निःशुल्क रूपमा वितरण गरिएको कसजूको भनाइ छ ।

In Diktel eye camp, 99 people's lost sight returned, 712 people received treatment‘तीन दिनसम्म भएको शिविरमा सात सय १२ जनाले सेवा लिनुभयो,’ कसजूले भने, ‘यसमध्ये ९९ जनाको शल्यक्रिया, पाँच सय ७० जनालाई निःशुल्क औषधि, दुई सय दुई जना जेष्ठ नागरिकलाई चस्मा र आँखा शल्यक्रिया गरिएका ७३ जनालाई कालो नि:शुल्क रूपमा वितरण गरिएको छ ।’

उक्त शिविर नेत्रज्योति संघ खोटाङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully