खोटाङ — खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको दोस्रो संस्करण वैशाख १५ गतेदेखि हुने भएको छ ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा सितोरियो कराते संघको संयोजनमा उक्त महोत्सव हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूका अनुसार पुरुष तथा महिला हाफ म्याराथन, एथ्लेटिक्स, साहित्य, ब्याडमिन्टन, बुद्धिचाल लगायतका खेलकुद प्रतियोगिता हुनेछन् । यसअन्तर्गत १५ गते एथ्लेटिक्स, १७, १८ र १९ गते ब्याडमिन्टन र बुद्धिचाल तथा २० गते साहित्यिक महोत्सव आयोजना गरिने कसजूले बताएका छन् ।
कसजूका अनुसार एथ्लेटिक्स अन्तर्गत दश वर्षमुनिका छात्रछात्रा १६ सय मिटरको दौड, १२ वर्षमुनिका छात्रछात्रा दुई किलोमिटर दौड, ६० वर्षमाथिका भेट्रान्स् पुरुष तीन किलोमिटर दौड, आमाहरूको पाँच किलोमिटर दौड, १२ वर्षदेखि १५ वर्षमुनिसम्मको छात्रछात्रा सात किलोमिटर दौड, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, बैंकर्स, शिक्षकहरूको सात किलोमिटर दौड, १५ वर्षदेखिमाथिको खुला महिला पुरुष दश किलोमिटर दौड, खुला पुरुष तथा महिला हाफ म्याराथन आयोजना गरिने छ ।
