जिउँदो गोरुको फिला काटिएको इलामको घटना के हो ?

उस्तै घटनामा एउटा गोरु यसअघि नै मरेको थियो भने अर्को गोरुको दोस्रोपटक शुक्रबार राति मासु काटेर लगियो

चैत्र ९, २०८१

लक्ष्मी गौतम

What is the incident in Elam where a living bull was cut?

पाँचथर — इलाममा जिउँदो गोरुको फिलाको मासु काटेर लगिएको घटनाले धेरैलाई चिन्तित बनाएको छ । यो घटना पहिलोपटक भएको भने होइन । पटक-पटक मासु काटेर लगेका कारण हल गोरु नै मरेका छन् ।

घटना हो, सूर्योदय नगरपालिका-६ कन्यामको । रातको समय जिउँदो गोरुको फिला काटेर मासु लगेका कारण हल गोरु नै मरेको गोरुधनी राम राईले बताए । 'उस्तै घटनाका कारण एउटा गोरु (कालो) यसअघि नै मरेको थियो । शुक्रबार राति अर्को घटना भयो,' उनले दु:ख व्यक्त गरे, 'मेरो त अब गोठै रित्तियो ।'

उनका अनुसार हलको एउटा गोरु मरेपछि अर्को (रातो) गोरुको पहिलोपटक फागुन १६ मासु काटिएको थियो । त्यही घाइते गोरुको शुक्रबार राति दोस्रो पटक मासु काटेर लगियो ।

‘जडीबुटी र औषधीमूलो गरेर मासु काटेको भाग पुरिन लागेको थियो, त्यही खुट्टाबाट फेरि झिकेर लगेछन्,' भावुक हुँदै राईले भने । पछिल्लो पटक घाइते गोरुको फिलाबाट पाँच किलो हाराहारी मासु काटेर लगेको उनको भनाइ छ ।

घरदेखि केही टाढा गोठ रहेका कारण बिहानपख घाँस हाल्न थलामा जाँदा मात्रै थाहा पाएको उनले बताए । ‘म गोठमा पुग्दा गोरु मरिसकेको थियो,’ उनले भने ।

राईले थलामा बाँधिएका चौपायालाई क्रुरतापूर्वक काटेर मासु झिक्नेको पहिचान गरी कारबाही गर्न माग गरेका छन् । 

राई कन्याममा बनिबुतो गरेर बस्छन् । अर्काको खेतबारी जोतेर परिवार पाल्दै आएका छन् । ‘घर र गोठ सय मिटरको दूरीमा रहे पनि गोठ भएको जग्गा अलि कोल्टे भएकाले घटना थाहा पाइनँ,' उनले भने, 'अघिल्लो दिन घाँस र खोले दिएर फर्केको थिएँ, बिहान जाँदा गोरु मरिसकेको रहेछ ।’

मासु काटिएका कारण मरेको गोरुको भिडियो स्थानीय सञ्चारकर्मी गोपाल गिरीले फेसबुकमा सार्वजनिक गर्दै घटनामा संलग्न व्यक्ति वा समूहको खोजी गर्न प्रहरी र जनप्रतिनिधिसँग आग्रह गरेका छन् ।

गाउँमा यस्ता घटना बारम्बार भइरहेको पीडित राईको भनाइ छ । 'कहिले गोरुको फिलाबाट मासु काटिन्छ, कहिले खसी चोरिन्छ, प्रहरी र जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि कारबाही हुँदैन,' उनले भने, 'यसअघि प्रहरीलाई खबर गरेको थिएँ, फोटो–भिडियो खिचेर राख भन्नुभयो, केही युवामाथि शंका लागेर सुनाएको थिएँ तर कारबाही भएन ।' खेतीपाती लगाउने बेलाका गोरु मरेपछि अब के गर्ने सोच्नै नसकेको उनले सुनाए ।

वडाध्यक्ष शिवकुमार बस्नेत पनि घटनास्थल रहेको टोलमा अरु पनि धेरै नै विकृति बढेको बताउँछन् । ‘मासु, मदिरा र झैझगडाले विकास निर्माण पनि पछि परिसक्यो । जस्तै घटना भए पनि किटानी जाहेरी कसैले कसैलाई दिँदैनन्, जनप्रतिनिधि नै आजित छौं,’ उनले भने ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully