स्थापनाको चार दशकपछि सञ्चालनमा आएको इनरुवा अस्पतालको ‘ब्लड बैंक’ बन्द

चैत्र ९, २०८१

अर्जुन सुवेदी

Inaruwa Hospital's 'Blood Bank', which was operational after four decades of establishment, is closed

सुनसरी — कर्मचारी अभाव भएको भन्दै जिल्ला अस्पताल इनरुवामा रहेको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) बन्द भएको छ । अस्पताल स्थापना भएको चार दशकपछि गत वर्षको जेठ ३१ गते ब्लड बैंक सञ्चालनमा ल्याइएको थियो ।

इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहयोगमा अस्पताल परिसरमा लामो प्रयासपछि रक्त सञ्चार केन्द्र स्थापना भएको थियो । 

सञ्चालनमा आएको डेढ वर्षपछि नै रक्त सञ्चार सेवा केन्द्र बन्द भएपछि बिरामी मर्कामा परेका छन् । दैनिक चार सय बढी बिरामी उपचारका लागि आउने अस्पतालमा ब्लड बैंक सञ्चालननमा आएसँगै सुनसरी सदरमुकाम इनरुवासहित कोशी, हरिनगर, गढी, रामधुनी र भोक्राहा नरसिंह गाउँपालिकाका सेवाग्राहीलाई फाइदा पुगेको थियो । 

ब्लड बैंक बन्द भएपछि उपचारका लागि आउने बिरामीलाई रगतकै अभावमा धरान या विराटनगरको अस्पताल रेफर गर्नुपर्ने बाध्यता पुन: बल्झिएको छ । अस्पताल प्रशासनले आफूहरुसँग कर्मचारी अभाव भएको र रेडक्रसले कर्मचारी व्यवस्थापन नगरिदिएकाले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

ब्लड बैंक स्थापना गर्दैगर्दा अस्पतालले नै कर्मचारी व्यवस्थापन गर्ने र ती कर्मचारीलाई आवश्यक परेको खण्डमा रेडक्रसले तालिम दिने मौखिक सहमतिपछि सञ्चालन गरिएको थियो । 

उक्त सहमतिअनुसार अस्पतालमा काम गर्ने कर्मचारीलाई नै ब्लड बैंकमा खटाउने गरिएको तत्कालीन मेडिकल सुपरिन्टेन्डेन्ट डा. देवराज घिमिरेले बताए । अस्पतालका मेडिकल सुरिन्टेन्डेन्ट डा. अमिताभ ठाकुरले आफूहरुसँग ब्लड बैंकको लागि दक्ष जनशक्ति नभएको र रेडक्रसले कर्मचारी उपलब्ध नगराउँदा बन्द भएको बताए । 

अस्पतालमा अहिले ५९ जनाको दरबन्दी रहेकोमा २८ जना मात्र कार्यरत रहेको ठाकुरको भनाइ छ । अस्पतालले ३२ जनाभन्दा बढी कर्मचारी ज्यालादारीको रुपमा नियुक्ति गरेपनि ब्लड बैंकको लागि खटाउन नसकेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

अर्जुन

Link copied successfully