झापाली नेता जन्माउने मेचीको स्ववियु अध्यक्षमा पहिलो पटक छात्रा

चैत्र ८, २०८१

नवराज सुवेदी

A student for the first time in the Swaviyu president of Mechi, which gave birth to a Jhapali leader

झापा — बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा उमंग र उल्लासको क्षण । यतिकैमा स्ववियु निर्वाचन समितिबाट एउटा घोषणा हुन्छ, ‘मेची बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी निलम कार्की विजयी भएकी छन्।’ उनै निलम जो कहिले रक्तदान कार्यक्रममा भेटिन्थिन् त कहिले अनाथ, असहायहरूलाई कपडा बाँडिरहेको अवस्थामा।

२५ वर्षीय कार्की अनेरास्ववियुको वर्चश्व तोड्दै मेचीको २१ औं स्ववियु अध्यक्ष त निर्वाचित  भइन् नै, क्याम्पसको ६ दशकको इतिहासमा उनी पहिलो छात्रा अध्यक्ष समेत बनेकी छन्। 

मेची बहुमुखी त्यही क्याम्पस हो, जसले विश्वप्रकाश शर्मा, राजेन्द्र लिङदेन जस्ता केन्द्रीय नेताहरू जन्माएको छ । शर्मा हाल दशकै पहिलो ठूलो दल नेपाली कांग्रेसको महामन्त्री छन् भने लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष छन्। यसअलवा झापाको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल यही क्याम्पसका पूर्वविद्यार्थी हुन् । उनी २०५५ मा क्याम्पसको स्ववियु सभापति थिए। 

एमालेनिकट अनेरास्ववियु पकड भएको क्याम्पससमेत हो मेची । यस्तोमा अनेरास्ववियुको वर्चश्व तोड्दै अध्यक्ष हुनु निलमका लागि कम चुनौतीको विषय भने थिएन । ‘कहिले रातको समयमा काम पर्छ, महिलाले जितिन् भने कसरी आउँछिन् ? किन महिलालाई जिताउने ? भनेर महिलाको ट्याग लगाएर पनि धेरैले बिथोल्न खोजे,’ निलम भन्छिन्, ‘तर, मैले त्यसलाई मेरै प्रचारको रुपमा लिएँ।’

त्यसमाथि क्याम्पसमा नेविसंघकै दुई वटा समूह प्रतिस्पर्धामा थिए। चौतर्फी घेराबन्दीका बीचबाट आफूले परिणाम निकालेको उनले बताइन्। अन्तिम मत परिणाम अनुसार कार्कीले ८२६ मत प्राप्त गरेर अध्यक्ष बन्दा प्रतिस्पर्धी अनेरास्ववियुका प्रन्सल मगरले ५४० मत प्राप्त गरे। सचिवमा पनि नेविसंघकै विवेक तामाङ ६३३ मतसहित विजयी भए।

नवराज सुवेदी

Link copied successfully