मैवाखोला साम्तोङका १ सय ११ घरलाई सोलार बत्ती वितरण

चैत्र ८, २०८१

आनन्द गौतम

Distribution of solar lights to 111 houses in Maiwakhola Samtong

ताप्लेजुङ — कोशी प्रदेश सरकारको अनुदान सहयोगमा मैवाखोला गाउँपालिका–६ साम्तोङका १ सय ११ परिवारलाई सोलार बत्ती वितरण गरिएको छ । एक घरमा चारवटासम्म बत्ती बाल्न र मोबाइल चार्ज गर्न मिल्ने ५० वाट क्षमताको सोलार वितरण गरिएको वडाध्यक्ष राजुमान तबेबुङले जानकारी दिए ।

कोशी प्रदेश खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयको ३४ लाख रुपैयाँको लागतमा वितरण गरिएको तबेबुङले बताए । ‘फागुन १५ गतेदेखि सामान झारेर जडान सुरु गरेका थियौं, चैत ६ गते सक्यौं,’ उनले भने, ‘अहिले कहीँकतै टुटफुट भयो कि भनेर हेर्दैछौं, ९ गते प्रदेशबाट अनुगमनको लागि पनि आउँदै हुनुहुन्छ ।’ 

काठमाडौंको एउटा कम्पनीले ल्याएर जडान गरेको उनले बताए । ब्याट्रीमा पानी लगाउनु नपर्ने र १० वर्ष सम्मको वारेन्टी रहेको कम्पनीले जनाएको छ । तिलकुमार मेन्याङवो खानेपानी मन्त्री हुँदा यो प्रक्रियाअघि बढाएको र आफूले बिजुली नपुगेको ठाउँको विवरण पठाएको उनले बताए । यहाँ अधिकांश शेर्पा समुदायको बसोबास रहेको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully