श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित पाँच जना पक्राउ

चैत्र १, २०८१

रमेशचन्द्र अधिकारी

Five people including his wife were arrested on the charge of murdering her husband

धनकुटा — श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको छथर जोरपाटी गाउँपालिका-२, फलैँचाका ३८ वर्षीय खेमबहादुर दर्लामी मगर बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका थिए।

मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकी कान्छी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो। मृतककाे शरीरका विभिन्न भागमा चाेट देखिएको र घटनास्थलकाे प्रकृतिका आधारमा हत्या गरिएकाे पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतककी कान्छी श्रीमती ४४ वर्षीया जीतमाया लिम्बू, १९ वर्षीय ईन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, ३१ वर्षीय दाछिरी र १६ वर्षीय एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। 

उनका अनुसार खेमबहादुरले पत्नी जीतमायालाई दिनहुँजसो कुटपीट र घरेलु हिंसा गर्ने गरेकाेले प्रतिसोधमा हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। गत बुधबार अपरान्ह समेत कुटपीट गरेपछि कान्छी श्रीमती सहितले बाँसको लट्ठीले पेट, ढाड लगायत विभिन्न स्थानमा प्रहार गरी घाँटी थिचेर हत्या गरेकाे हुनसक्ने प्रहरीकाे भनाइ छ।

कुटपिटमा प्रयोग भएका लठ्ठी लगायत सामाग्रीहरू समेत बरामद भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए। 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully