ताप्लेजुङ — संघीय सरकार अन्तर्गत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा ताप्लेजुङका नौ मध्ये मेरिङदेन गाउँपालिका उत्कृष्ट बनेको छ । मेरिङदेन ६९.१४ अंक प्राप्त गर्दै उत्कृष्ट भएको हो ।
एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सिदिङ्वा सबैभन्दा कमजोर देखिएको छ । उसले ४५.७२ अंक प्राप्त गर्यो ।
पाथीभरा याङवरक ६७.६५ अंक सहित दोस्रो, मैवाखोला ६४.६२ सहित तेस्रो भएका छन् । गतवर्ष मैवाखोला गाउँपालिका कोशी प्रदेशकै उत्कृष्ट बनेको थियो । आठराई त्रिवेणीले ५८.६७, फक्ताङलुङले ५८.६० अंक प्राप्त गर्दा जिल्लाको एकमात्र फुङलिङ नगरपालिकाले ५६.९६ अंक प्राप्त गरेको छ । समग्रमा नगरपालिका जिल्लाको छैटौं स्थानमा रहेको छ । सिरिजंगाले ५६.४३, मिक्वाखोलाले ४९.४५ अंक प्राप्त गरेको आयोगद्वारा प्रकाशित विवरणमा उल्लेख छ ।
आयोगले गाउँकार्यपालिका र नगरकार्यपालिकाले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा र नगरसभामा पास गरे/नगरेको हेर्ने गरेको छ । राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभाबाट असार मसान्तभित्र पारित गरे/नगरेको, घर जग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनु पर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको पनि हेर्ने गरेको छ ।
स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ को आय व्यय प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण पुस मसान्त भित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, आर्थिक वर्षको बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण कार्तिक मसान्तमा सार्वजनिक गरे/नगरेको, स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरे/नगरेको नियमन गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्षको विनियोजित रकम अनुसार खर्चको अवस्था, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणबाट औँल्याएको बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे नगरेको अवस्था मूल्याङ्कन गर्ने गरेको छ ।
शिक्षा तर्फ, १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहको भर्ना दर, कक्षा ८ को तुलनामा ९ मा विद्यार्थी टिकाउको अवस्था, अघिल्लो शैक्षिक सत्रमा सामुदायिक विद्यालयबाट सहभागी भई एसइई मा ल्याएको जिपिएको अवस्थालाई मूल्याङ्कनको सूचीमा राखेर अंक दिने गरेको छ । स्वास्थ्य तर्फ गर्भवती महिलाको गर्भ जाँचको अनुपात, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला, खोप लगाउने बालबालिका, पूर्ण खोपको अवस्था नियाल्ने गरेको छ ।
आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्ट गरे नगरेको हेर्ने र अंक दिने गरिएको छ । आयोगले ७ सय ५३ स्थानीय तहकै विवरण सार्वजनिक गरेको छ । आयोगले दिएको अंकको सिफारिसमा वित्तीय समानीकरण अनुदान सरकारले उपलब्ध गराउँछ । आयोगले अन्तिम नतिजा सार्वजनिक गर्नु अघि गत माघ ३० गते प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । पुनरावलोकनका लागि सात दिने म्याद दिएको आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
