काठमाडौँ — खोटाङ–सोल्मामा आयोजित सोल्मा पुरुष फुटबल पाँचौ संस्करणको प्रतियोगितामा उडाइएको उद्घाटन ब्यानर भारतको सिलगुडीमा भेटिएको छ ।
सोल्मा स्पोर्ट्स क्लबको घरेलु खेल मैदानबाट कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले शनिबार उडाएको बेलुनसहितको उद्घाटन ब्यानर भारतीतको सिलिगुडीस्थित आनन्या सरकारले भेटाएकी हुन् ।
खेल संयोजक अमर श्रेष्ठका अनुसार प्रिती सेन नाम गरेको फेसबुक आइडीबाट उक्त ब्यानर भेटाएको फोटो पठाएको हो । उक्त ब्यानर भेटाउनेलाई नगद पाँच हजार रूपैंयाँ पुरस्कार दिने आयोजकले घोषणा गरेको छ ।
श्रेष्ठका अनुसार उद्घाटन ब्यानर भेट्ने युवतीलाई खेलमैदानमै ल्याएर पुरस्कार प्रदान गर्न कोसिस भइरहेको छ । यसका लागि फागुन २५ गते क्लबका प्रतिनिधि भारत पठाइएको श्रेष्ठले बताएका छन् ।
‘उद्घाटन ब्यानर भारतको सिलिगुढीकी एक युवतीले फेला पार्नु भएको जानकारी आयो,’ श्रेष्ठले भने,‘उहाँलाई खेल मैदानमै ल्याएर पुरस्कार दिने कोसिस भइरहेको छ, यसका लागि क्लबका प्रतिनिधि भारत पठाइएको छ ।’
फागुन २९ गतेसम्म हुने खेलको विजेता टिमले एक लाख ३३ हजार तीन सय ३३ रूपैयाँ तथा उपविजेता टिमले ७१ हजार एक सय ११ रूपैयाँ नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।
सेमिफाइनलिष्ट दुई टिमले ३५ हजार ५ सय ५५ रूपैयाँ नगद ट्रफी र प्रमाणपत्र पाउनेछन् । यसबाहेक विधागत पुरस्कार अन्तर्गत बेस्ट प्लेयरले पाँच हजार पाँच सय ५५, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर बेस्ट मिडफिलडर, हाइस्कोरर बेस्ट कोच, राइजिङ प्लेयरलाई जनही ३ हजार ३ सय ३३ रूपैयाँका दरले दिने राईले बताएका छन् ।
त्यस्तै खेल क्षेत्रमा उत्कृष्ट कलम चलाउने एक जना पत्रकारलाई पाँच हजार पाँच सय ५५ रूपैयाँसहित खेल पत्रकारिता पुरस्कार दिइने आयोजकले जनाएको छ ।
