पाँच दशकदेखि हटिया गइरहेकी रतन

खोकुबाट १४ वर्षको उमेरमा पहिलोपटक हटिया पुगेको सम्झना उनलाई ताजै छ ।

फाल्गुन २४, २०८१

रमेशचन्द्र अधिकारी

Ratan, who has been going to Hatia for five decades

धनकुटा — काउली, रायो, धनियाँका मुठा राखेर ग्राहकको पर्खाइमा थिइन्, धनकुटा नगरपालिका–३ कागतेकी ६८ वर्षीया रतन राई । हरेक बिहीबार धनकुटा–५ स्थित साप्ताहिक हटियामा उनी यसैगरी जान थालेको पाँच दशक नाघेको छ । मौसमअनुसार आफ्नो बारीमा उत्पादन हुने तरकारी, फलफूल बिक्री गर्न ५४ वर्षदेखि उनी हटिया पुग्ने गरेकी छिन् ।

विवाहअघि हालको सहिदभूमि गाउँपालिकाको खोकुबाट १४ वर्षको उमेरमा पहिलोपटक हटिया पुगेको सम्झना उनलाई ताजै छ । उतिबेला डोकोभरि फलफूल बोकेर आमासँग हटिया पुगेको बताइन् । त्यसबेला खोकुबाट धनकुटा पुग्न हतारिएर पनि ६ घन्टा पैदल हिँड्नुपर्थ्यो । पसिनाले निथ्रुक्क भिजेर धनकुटा बजार पुग्दा रमाइलो लागेको उनी सुनाउँछिन् ।

‘मलाई सुहाउने सानो डोकोमा फलफूल बोकाएर पहिलो पटक हटिया पुग्दा धेरै मान्छेको जमघट देखेर छक्क परेकी थिएँ’, उनले भनिन्, ‘त्यसपछि हरेक हप्ता हटिया जाने चलन नै भयो र अहिलेसम्म धाइरहेकी छु ।’

उनी धरानका साप्ताहिक हटिया र आफ्नै गाउँ आसपास लाग्ने औंसी–पूर्णे बजार भर्न जाने गर्थिन् । बाबुआमा र छरछिमेकको साथमा झिसमिसेमै बाँसका कप्टेराको राँको बालेर भारीको साथ हाटबजार गएको राई सम्झिन्छिन् । ‘भालेको डाकसँगै पिठ्युँमा डोको, धुन्से बोकेर हाटबजार जाने गर्थ्यौं,’ उनले भनिन्, ‘जाँदा झिसमिसे, फर्कंदा झमक्क रात परेको हुन्थ्यो ।’ उकालो–ओरालो बाटो काट्दै बजार गएर फर्कंदा दिन बित्ने गरेको उनले सुनाइन् । साथमा लगेको कोदो–फापरको रोटीले भोक मेटाउने गरेको उनी सम्झन्छिन् ।

माइतीमा हुँदा हाटबजार जाने उनको क्रम विवाहपछि पनि जारी रह्यो । २०४३ मा धनकुटा–३ कागतेका कृष्णकुमार राईसँग विवाह भयो । त्यहाँ पनि आफ्नो बारीमा उब्जिएका तरकारी, फलफूल बिक्री गर्न हटिया जाने चलन थियो । त्यसले, उनको हटिया जाने क्रम छुटेन । भइपरी आउने कामबाहेक उनको हटिया यात्रा कहिल्यै टुटेकै छैन । ‘चार/पाँच दशक पहिले हटिया भर्नेको संख्या थोरै हुने हुने गर्थ्यो,’ उनले भनिन्, ‘आफैंले हेर्दै जाँदा कैयौं गुनाले मानिसको भीडभाड हुने गरेको छ । मूल्य पनि सयौं गुनाले बढेको देख्दा अचम्म लाग्छ ।’

Ratan, who has been going to Hatia for five decades

सुरुवाती दिनमा ५० पैसामा बिक्री गरेको सागको मुठा अहिले २०/३० रुपैयाँमा बेच्छिन् । उतिबेला एक रुपैयाँ दर्जनमा पाइने केरा ८० देखि सय रुपैयाँमा बिक्री हुन्छ । ‘उतिबेला थोरै पैसाले धेरै गर्जो टर्थ्यो, अहिले धेरै पैसाले कम काम गर्छ,’ उनले भनिन्, ‘अहिले त महँगीले जीवन धान्नै मुस्किल छ ।’ पाँच दशक पहिले प्रतिसाता मुस्किलले ५ रुपैयाँ कमाइ हुने हटियाको व्यापारबाट अचेल दैनिक एक हजारसम्म आम्दानी भइरहेको राई बताउँछिन् ।

साप्ताहिक हटियामाबाहेक पनि उनको घरैबाट समेत बंगुर, खसीबाख्रा र सिजन अनुसारका फलफूल बिक्री हुन्छ । सबैभन्दा बढी सुन्तला, एभोकाडोलगायत फलफूल बिक्री हुन्छ । जसबाट प्रतिवर्ष औसत एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ । खेतीपातीबाहेक उनको परिवार धान्ने वैकल्पिक पेसा छैन ।

उनको परिवारले चार रोपनी भिरालो जग्गामा सुन्तला, एभोकाडोका २०/२५ बोट रोपकी छन् । राई दम्पतीले सोही जग्गाको उब्जनीको आम्दानीले तीन छोरीसहितका पाँच परिवार धान्दै आएका थिए । दुई छोरीको विवाह भइसकेको छ । कृषि पेसाकै आम्दानीको स्रोतले तीन छोरीलाई स्नातकोत्तर पढाएर दुईको बिहे गरेको राई दम्पतीले बताए । जेठी छोरी प्रेमकला र कान्छी शशिकलाको विवाह भइसकेको छ भने माइली विजयकला साथैमा छन् । प्रेमकलाले कानुनमा स्नातक र राजनीतिकशास्त्रमा स्नातकोत्तर पूरा गरेकी छिन् । ‘आफूहरुले लेखपढ गर्न पाइएन । छोरीलाई उनीहरुले चाहे जति पढाउन पाइयो, यसैमा सन्तुष्टि मिलेको छ,’ कृष्णले भने ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully