विराटनगर — कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गरेको छ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि आगामी वर्षदेखि भिन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने जनाए।
मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको छ।
त्यस्तै प्रदेशमा आइपुगेका प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालयमा कामकाज गर्न खटाउने, सचिव पवनकुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै कामकाजमा खटाउने, धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने, कोशी पर्यटन वर्षको लागि विनियोजित गरिएको रकमको स्रोतगत बाँडफाड गर्ने निर्णय गरेको छ।
