पाँचथर — इलाममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको फाइनल खेल शनिबार हुँदै छ ।
फाइनल उपाधिका लाथि दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुने भएको हो ।
एपीएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेको हो भने त्रिभुवन आर्मी आयोजक ओएसिस क्लबलाई हराएर उपाधि दाबेदार बनेको हो ।
प्रतियोगिता इलामस्थित ठूलो टुँडिखेलमा फागुन १७ देखि सुरु भएको थियो । खेलमा नेपाल र भारतका ८ टिम सहभागी थिए ।
फाइनल खेल शनिबार दिउँसो अपराह्न साढे २ बजे सुरु हुने आयोजकले जनाएको छ ।
अघिल्लो वर्ष सम्पन्न पहिलो आमन्त्रित महिला गोल्डकपको उपाधि मानेभञ्ज्याङले जितेको थियो । यो वर्ष उक्त टिम पहिलो चरणबाटै बाहिरिएको छ ।
प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेताले दुई लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
