खोटाङमा नि:शुल्क लोकसेवा तयारी कक्षा

फाल्गुन २२, २०८१

डम्बरसिं राई

Free Public Service Preparation Class in Khotang

खोटाङ — नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला कार्यसमितिले जनजाति समुदायका विद्यार्थीका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । नायब सुब्बा र खरिदार पदका लागि सञ्चालन गरिएको तयारी कक्षाको बुधबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उद्‌घाटन गरे।

तयारी कक्षाका संयोजक तथा विद्यार्थी महासंघका पूर्व अध्यक्ष उदीम चाम्लिङका अनुसार लोकसेवा तयारीका लागि ७० जनाले आवेदन भरेका छन् । उक्त तयारी कक्षा आगामी बैशाख २१ गतेसम्म हुने आयोजकले जनाएको छ ।

उक्त तयारी कक्षाका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आर्थिक सहयोग गरेको हो । उक्त कक्षामा सहभागी हुने विद्याललाई निशुल्क रूपमा पढाइने आयोजकले जनाएको छ । उक्त तयारी कक्षा दिक्तेलस्थित सरस्वती माविमा हुने आयोजकले जनाएको छ ।

‘लोकसेवा तयारी कक्षा निःशुल्क रूपमा सुरु गरिएको छ,’ चाम्लिङले भने, ‘यो कक्षा आगामी बैशाख २१ गतेसम्म चल्ने छ ।’ 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully