झापामा नयाँ चरा फेला

बैजनी ढाडे बुंगेचरा भेटिएसागै नेपालमा पाइने बुंगेचराको प्रजाति संख्या आठ पुग्यो

फाल्गुन २१, २०८१

पर्वत पोर्तेल

New bird found in Jhapa

विराटनगर — बैजनी ढाडे बुंगेचरा पहिलो पटक झापामा फेला परेको छ । यो नेपालकै लागि नयाँ प्रजातिको चरा भएको नेपाल पन्छीविद् संघले पुष्टि गरेको छ । 

चरा खोजकर्ता देवेन्द्र खरेलले गत ७ फागुनमा झापाको मेचीनगर–६ काँकडभिट्टा क्षेत्रमा बैजनी ढाडे बुंगेचरा फेला पारेका थिए । स्थानीय राजेन्द्र मिश्रको घरको धुरीमा नौलो चरा देखेपछि उनले फोटो खिचेर पन्छीविद् संघलाई पठाएका थिए ।

‘मैले फोटो इमेलमा पठाएको थिएँ,’ खरेलले भने, ‘१६ फागुनमा संघले नयाँ प्रजातिको चरा भएको जवाफ पठायो ।’ संघले पठाएको पत्रमा भनिएको छ, ‘नेपालमा ७ प्रकारका बुंगेचरा अभिलिखित थिए । अब ८ वटा पुगेको छ ।’

संघका अनुसार कालो बुंगेचरा, कान्ति बुंगेचरा, नेपाल बुंगेचरा, कालीकण्ठे बुंगेचरा, सिपराजा बुंगेचरा र लालपुच्छ्रे बुंगेचरा रहेकामा अब ‘बैजनी ढाडे बुंगेचरा’ थपिएको हो । चम्किलो बैजनी ढाडे बुंगेचरा मुख्य रूपमा भारत, श्रीलंका, पाकिस्तानका केही भाग र बंगलादेशमा पाइन्छ । यो चरा करिब १० सेन्टिमिटर लामो हुन्छ । पोथीको हरियो–खैरो टाउको र ढाड, पहेंलो छाती र पेट हुन्छ ।

भालेको बैजनी टाउको, रातो घाँटी र छातीको माथिल्लो भाग, हरियो पखेटा र पहेंलो पेट हुन्छ । यसले मूलतः फूलहरूको रस, साना कीरा र फूलका भाग खान्छ । बगैंचा, वनजंगल, खेतीयोग्य जमिन र सहरी क्षेत्रमा पनि यसलाई देख्न सकिन्छ । 

तेज गतिमा उड्न सक्ने यो चरा चञ्चले र सक्रिय स्वभावको हुन्छ । ‘नयाँ प्रजातिको अर्को चरा भेटिएसँगै नेपालमा चराको संख्या ८ सय ९८ पुगेको छ,’ नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष तुलसीराम सुवेदीले भने, ‘नयाँ चराको संरक्षण र विस्तृत अध्ययन आवश्यक देखिएको छ ।’

४४ वर्षपछि देखियो ‘कैलो लाहाँचे’ 

चरा खोजकर्ता खरेलले दुर्लभ लाहाँचे प्रजातिको ‘कैलो लाहाँचे’ समेत फेला पारेका छन् । बर्ड अफ नेपाल नामक पुस्तकमा उल्लेख भएअनुसार सन् १९८१ यता यो चरा नेपालमा देखिएको थिएन । गत फागुन १० मा झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिका–६ लाङ्केप भन्ने ठाउँमा उक्त चरा फेला परेको हो । 

१६–१८ सेन्टिमिटर लम्बाइको यो चराको टाउको खैरो–सेतो मिश्रित, आँखा वरिपरि पहेंलो गोलो, टाउको फिका पहेंलो वा हल्का रंगको हुन्छ । यसले रूख ठुङ्दै खाना खोज्छ । यो मूलतः हिमाली क्षेत्रमा बस्ने चरा हो । चीन, भारत, बंगलादेश, भुटान, थाइल्यान्ड, म्यानमार, भियतनाम लगायतका देशमा यो पाइन्छ । विशेष गरी झाडीयुक्त खुला वन, खेतीयोग्य क्षेत्र र घाँसेमैदानमा यो चरा बस्छ । साना किरा, झिँगा, बियाँ बोटबिरुवाका फूल तथा साना फलफूल यसको मुख्य आहारा हुन् । 

मुस्ताङपछि झापामा फुस्रो सारौं

झापामै पहिलो पटक फुस्रो सारौं चरा पनि भेटिएको छ । मेचीनगर–६ काँकडभिट्टा क्षेत्रमा फेला परेको यो चरा यसअघि गत २५ वैशाखमा चराविद् शंकर तिवारीले मुस्ताङको लोमान्थाङ क्षेत्रमा फेला देखिएका थिए । ‘मुस्ताङपछि पहिलो पटक झापामा यो चरा देखा परेको हो,’ खोजकर्ता खरेलले भने । 

यस चराको अंग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टर्लिङ’ र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासस’ हो । ‘प्यासेरीफर्म्स’ वर्गको ‘स्टुरीडेई’ परिवारमा पर्ने यो चरा चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा पाइन्छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते चराका रूपमा यो रेकर्ड भएको छ ।

नेपालबाट सबैभन्दा नजिक मध्यचीनका विभिन्न ठाउँमा यो चरा पाइन्छ । जाडो याममा यो चरा नियमित रूपमा दक्षिणतिर बसाइँ सर्छ र जाडो बिताउन दक्षिणपूर्वी चीन र ताइवान पुग्छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully