झापा — कला साहित्य उत्सवको पाँचौं संस्करणमा पर्यावरण विमर्शको विशेष महत्व रह्यो । पहिलो दिन विभिन्न चार सत्रमा हिमालदेखि नदीसम्मका पर्यावरणीय चुनौतीबारे छलफल भयो ।
उत्सवको शुभारम्भ ‘सेताम्ये हिमाल कसरी हिउँ पग्लिएर कालाम्य बन्दै गएको छ’ भन्ने विषयवस्तुमा कोरिएको चित्र प्रदर्शनीबाट भएको थियो । देहि आर्टका कलाकार छितेन शेर्पाले तयार पारेको उक्त चित्र हिमाली पारिस्थितिकी संकटको सजीव चित्रण थियो ।
पर्यावरणीय संकट र नेपाल
देहि आर्ट र परिवर्तन थिएटरको सहकार्यमा सुरु उत्सवमा वातावरणविद् डा. उत्तमबाबु श्रेष्ठले ‘पर्यावरण संकट र नेपाल’ शीर्षकमा विद्वत प्रवचन दिए । उनले झापा जिल्लाको जैविक विविधता, विशेष गरी जलथल जंगलको महत्वबारे चर्चा गरे। औद्योगिक क्रान्तिपछि ऊर्जा उपयोगको वृद्धि र त्यसले वातावरणमा पारेको प्रभावको ऐतिहासिक पृष्ठभूमिबारे समेत प्रकाश पारे ।
श्रेष्ठले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, बाहृय मिचाहा प्रजातिहरूको विस्तार, वन डढेलो, वायु प्रदूषण, प्लास्टिक प्रदूषण, र प्राकृतिक स्रोतहरूको अति उपयोग जस्ता चुनौतीहरूको समीक्षा गर्दै पर्यावरण संरक्षण मानव अस्तित्वका लागि अनिवार्य रहेको निष्कर्ष प्रस्तुत गरे ।
कञ्चनजंगादेखि बंगालको खाडीसम्म
पहिलो दिनको पहिलो सत्रमा लेखक तथा पत्रकार रमेश भुसाल र सिक्किमकी पर्यावरण अभियन्ता मयलमित लेप्चाले ‘कञ्चनजंगादेखि बंगालको खाडीसम्म’ शीर्षकमा अन्तर्क्रिया गरे ।
उनीहरूले कञ्चनजंगा नदी प्रणाली (मेची, कोशी, टिस्टा र तिनका सहायक नदीहरू) को ऐतिहासिक, सामाजिक, तथा पारिस्थितिक महत्वबारे विस्तृत छलफल गरे । हिमालयबाट बग्दै बंगालको खाडीमा मिसिने यी नदीहरू नेपाल, भारत, र बंगलादेशका लागि जीवनरेखा भएको भन्दै उनीहरूको संरक्षण अपरिहार्य रहेको निष्कर्ष निकाले ।
साहित्यमा मान्छेको आधिपत्य
दोश्रो सत्रमा ‘साहित्यमा मान्छेको आधिपत्य’ शीर्षकमा डा. अर्चना थापा, बसन्त बस्नेत, छुदेन काविमो र राजा पुनियानीबीच संवाद भयो । वक्ताहरूले साहित्यमा प्रभुत्वशाली वर्गको वर्चस्व, विविध आवाजको आवश्यकता र नेपाली साहित्यमा पर्यावरणीय चेतनाबारे चर्चा गरे ।
उनीहरूले जलवायु परिवर्तनले साहित्यलाई नयाँ कोणबाट हेर्नुपर्ने आवश्यकता औंल्याउँदै पर्यावरणीय चुनौतीलाई साहित्यिक सिर्जनामा कसरी समावेश गर्न सकिन्छ भन्नेबारे करिव एक घन्टा विचार मन्थन गरे ।
संरक्षण : समुदाय कि सरकार ?
तेस्रो सत्र ‘संरक्षण कसले गर्ने : समुदाय कि सरकार?’ शीर्षकमा बुद्धिजीवी नेता राम कार्की, संरक्षणविद् नन्दा देवी कुावर र वीरेन्द्र महतोबीच बहस भयो ।
उनीहरूले वन, नदी, तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा समुदायको भूमिका के हुनुपर्छ भन्नेबारे बहस गर्दै ब्रिटिश उपनिवेशवाददेखि हालका बजारमुखी संरक्षण नीतिसम्मको समीक्षा गरे । वक्ताहरूले प्राकृतिक स्रोतहरूको दीगो संरक्षणका लागि समुदायको संलग्नता आवश्यक रहेको बताए ।
‘ट्राजेडी अफ द कमन्स’ जस्ता अवधारणाको आलोचना गर्दै उनीहरूले समुदायलाई स्रोत व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने धारणा राखे । सहजकर्ता सुशान्त गुरुङले राज्य र बजारको हस्तक्षेपबिना पनि स्थानीय समुदाय संरक्षणका लागि सक्षम हुने तर्क प्रस्तुत गरे ।
सिर्जनाको प्रकृति : कला र पर्यावरण
अन्तिम सत्र ‘सिर्जनाको प्रकृति’ मा सिनेमाकर्मी मिन भाम, रंगकर्मी घिमिरे युवराज, कालिम्पोङकी चित्रकार इलियन फोनिङ र दार्जिलिङका संगीत सर्जक देवाशिष मोतेले सहभागिता जनाए । उनीहरूले परम्परागत लोकसङ्गीत, चित्रकला, तथा मूर्तिकलामा समाजका संवेदनाहरू कसरी प्रतिबिम्बित हुने गरेका थिए भन्ने उल्लेख गर्दै वर्तमान बजारमुखी प्रवृत्तिलाई चुनौती दिनुपर्ने बताए ।
वक्ताहरूले वैकल्पिक कलात्मक अभिव्यक्तिहरू खोज्नुपर्ने, रैथाने जीवनशैलीलाई कलामा चित्रण गर्नुपर्ने, र प्रकृतिसंगको संवादलाई सिर्जनाको केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरे । कोलकाताका लोक कलाकार राजीव देव नाथले पर्यावरणको गीतवाट सुरु गरेको उत्सवलाई दार्जिलिङका संगीत सर्जक देवाशिष मोतेले नदी र जंगलको गीत सुनाएर टुंग्याएका थिए ।
