ताप्लेजुङ — केबलकार निर्माणको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा हटेपछि जिल्लाको जनजीवन सामान्य बनेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले लगाएको निषेधाज्ञा मंगलबार रातिदेखि हटेको हो।
निषेधाज्ञा हटेपछि गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट गाउँ जाने यातायातका साधन नियमित भएका छन् । यसले मान्छेको चहलपहल बढाएको उद्योग वाणिज्य संघ ताप्लेजुङका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले बताए । यसले ताप्लेजुङको जनजीवन सामान्य बन्दै गएको शेर्पाले बताए ।
बुधबार शिवरात्रिको दिन सिद्धि डाँडा किँरातेश्वर नागेश्वर महादेव मन्दिरमा बिहानैदेखि मानिसहरुको भीडभाड लागेको थियो । जिल्लामा आन्दोलनका पनि कुनै गतिविधि भएको छैन । सरकारले बोलाएको वार्तामा जान 'नो केबलकार' समूहले चार प्रस्ताव गरेका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार वार्ता समितिले मुकुम्लुङ संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बू र श्रीप्रसाद लिम्बूलाई नामै उल्लेख गरेर वार्तामा बोलाउने तयारी गरेको छ । आन्दोलनमा १३ संघसंस्था र ९ राजनीतिक दल सहभागी छन् ।
विज्ञप्ती जारी गर्ने संस्था र राजनीतिक दल थपिइरहँदा वार्ता समितिले निश्चित व्यक्ति तोकेर पत्राचारको तयारी गरेको स्रोतले जनाएको छ। सरकारले मन्त्रिस्तरीय वार्ता समिति बनाउने संकेत भने गरेको छैन । काम रोक्ने सर्त यसअघि नै गरेको छ। आन्दोलनका क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। उनीहरुलाई अभद्र व्यवहारको कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
