पाँचथर — इलामको जस्बीरेमा सञ्चालनरत जस्बीरे चिया प्रशोधन कारखानामा आगलागी हुँदा सात करोडभन्दा धेरैको क्षति भएको छ ।
मंगलबार राति नौ बजे भएको आगलागीमा उद्योगमा रहेका चिया प्रशोधनमा आवश्यक पर्ने मेसिन, प्रशोधन गरेर बिक्रीका लागि तयार गरिएको चिया लगायत जलेर नष्ट भएका छन् ।
कारखानाका सञ्चालक शरद सुब्बाले आफू कारखानाको काम सकेर फर्केपछि आगो लागेको जानकारी दिए । यद्यपि आगलागीको कारण भने खुल्न सकेको छैन । जस्बीरे चिया प्रशोधन कारखाना पूर्वी नेपालका पूराना चिया उद्योगमध्येको एक हो ।
जुन कारखानामा प्रशोधन गरेर तयार गरिएको चियापत्ति देश विदेशसम्म निर्यात हुने गर्थ्यो । कारखानाले किसानको अर्ग्यानिक चिया पत्ती खरिद गरेर समेत प्रशोधन गर्दै आएको थियो । कारखानामा सल्केको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा बिहान साढे तीन बजे नियन्त्रणमा लिइए पनि अहिलेसम्म धुँवा उडिरहेको छ ।
यो उद्योगका सञ्चालक शरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित हुॅदै पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
यस उद्योगमा उत्पादित चिया ‘स्पेसल टी’ का नामबाट निर्यात हुने गर्थ्यो । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो भने युरोपका विभिन्न मुलुकमा निर्यात समेत हुॅदै आएको थियो ।
बुधवार बिहान आगलागी प्रभावित क्षेत्रमा इलाम नगरपालिकाका मेयर केदार थापा सहितका जनप्रतिनिधिले अवलोकन गरेका छन् । आगलागीका कारण ७ करोड बढीको क्षति भएपनि विवरण यकिन हुन सकेको छैन ।बिहानै घटनास्थल पुगेको प्रहरी टोलीले क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
