'नो केबलकार समूह' फुङलिङ फर्कियो, महतोलाई कालो झन्डा

फाल्गुन १०, २०८१

आनन्द गौतम

'No Cable Car Group' returned to Fengling, a black flag for Mahato

ताप्लेजुङ — फागुन ६ देखि काफ्लेपाटी क्षेत्रमा केन्द्रित ‘नो केबलकार समूह' शनिबार साँझ सदरमुकाम फुङलिङ फर्किएको छ । समूहमा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो पनि छन् । उनलाई ‘एस केबलकार समूह’ले फुङलिङको बुद्धचोक छेउमा कालो झन्डा देखाएको थियो । 

उनलाई सुरक्षाकर्मीको टोलीले स्कर्टिङ गरेर सदरमुकाम ल्याएको हो । फागुन ७ गते ताप्लेजुङ आएका महतो ८ गते बिहान नो केबलकार समूहद्वारा आयोजित पदयात्रामा सहभागी हुन काफ्लेपाटी पुगे । त्यहाँबाट अढाई किलोमिटरमा रहेको माथिल्लो फेदीमा पुगेर आन्दोलनरत समूहलाई सम्बोधन गरेर पाथीभरा मन्दिर गएका थिए । त्यही साँझ मन्दिरबाट माथिल्लो फेदी फर्किए पनि केबलकार निर्माणस्थलमा भएको झडप र बन्दका कारण त्यहीं रोकिए । ९ गते पनि काफ्लेपाटीमै रहेका उनी १० गते दिउँसो भने आन्दोलनरत समूहसँगै फर्किएका हुन् । 

उनको पार्टीले महतोमाथि अभद्र व्यवहार भएको भन्दै शुक्रबार विज्ञप्तिसमेत निकालेको थियो । स्थानीयका अनुसार काफ्लेपाटीमा एस केबलकार समूहले महतोमाथि निगरानी बढाएपछि सुरक्षा चुनौती बढेको थियो । एस समूहको सम्भावित गतिविधिलाई दृष्टिगत गरी महतोलाई स्कर्टिङ गरेर सदरमुकाम ल्याएको सुरक्षा स्रोतले जनाएको छ । शुक्रबार काफ्लेपाटीमा नो केबलकार र एस केबलकार समूहको बाक्लो उपस्थिति थियो । सम्भावित झडपलाई दृष्टिगत गरी सुरक्षा निकायले महतोलाई त्यही रहन अनुरोध गरेको थियो । 

गत ८ गतेको विरोध र सम्भावित जोखिमलाई दृष्टिगत गरी सुरक्षा अधिकारीले केबलकार निर्माणस्थलमा प्रयोग गरिने एक्स्काभेटर मेसिन काफ्लेपाटीमा ल्याएको छ । काफ्लेपाटीबाट केबलकार स्टेसन ८ सय मिटर दुरीमा छ । आन्दोलनकारीले मेसिन निकाले आफूहरु फर्कने बताएका थिए । शुक्रबार दिउँसो नो केबलकार समूहले फेरि जुलुससहित काफ्लेपाटीमा प्रदर्शन गर्‍यो । एस केबलकार समूहले पनि बाक्लो उपस्थिति जनाएपछि र युट्युबर सहितका सञ्चारकर्मीका सञ्चार सामग्रीसमेत खोसिएपछि केही समय तनाव भएको थियो । 

बिहीबारको झडपको क्रममा रेडक्रसकर्मी र इन्सेक प्रतिनिधिले घाइते लिन सदरमुकामबाट लगेको ट्याक्सी आन्दोलनकारीले तोडफोड गर्नुका साथै चालकलाई घाइते बनाएपछि यातायात व्यवसायीले शुक्रबार यातायात बन्द गराएका थिए । आन्दोलनकारीले घाइतेको उपचार गर्ने र तोडफोड भएको सवारी मर्मत गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबार बेलुका यातायात खुलेको थियो । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully