फाल्गुनन्द-३ का वडाध्यक्ष सुखबिर नेम्वाङको निधन  

फाल्गुन ७, २०८१

लक्ष्मी गौतम

Sukhbir Nemwang, ward president of Falgunand-3, passed away

पाँचथर — फाल्गुन्द गाउँपालिका-३ का वडाध्यक्ष सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ । नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए ।

राज्यको पुनःसंरचनापश्चात २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

पछिल्लो समय उनलाई मुखको क्यान्सर भएको थियो । क्यान्सरकै कारण उनको निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए ।

लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेपछि उनलाई अस्पतालले फिर्ता पठाएसँगै माघ तेस्रो साता फाल्गुनन्द ३ स्थित पौवासारतापमा रहेको घर ल्याइएको थियो ।

घरैमा रहेर उपचार गराइरहेका बखत उनको बुधबार निधन भएको हो । उनी कुशल भलिबल खेलाडी पनि थिए । उनको अन्त्येष्टि बुधबार नै गरिने पारिवारिक स्रोतले जनाएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully