ताप्लेजुङ — सडकमा जथाभावी राखेको काठको गोलियाले यातायात सञ्चालनमा समस्या भएको भन्दै तत्काल नहटाए जफत गर्ने फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले सडक अवरुद्ध हुने गरी राखेका गोलियाहरु तत्काल नहटाए जफत गरी आवश्यक कानुनी कारबाही गर्ने चेतावनी दिए ।
अध्यक्ष लिम्बूले पालिकाभित्रका सार्वजनिक बाटोहरुमा लापरबाही तरिकाले राखेका गोलिया जफत गरी सम्बन्धित व्यक्तिलाई जरिवानासहित कानुनी कारबाही गर्ने बताए ।
सडक ऐन २०३१ अनुसार सडक क्षेत्रभित्र कुनै पनि किसिमका संरचना बनाउन, स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमका कार्य गर्न नहुने, गरे कारबाही हुने उल्लेख छ । जंगलबाट निकालिएको गोलिया सडकमा लडाएर राख्ने गरिएको छ ।
