विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह रोक्न विशेष योजना ल्याउने घोषणा गरेका छन् । मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा उनले सन् २०२५ को अन्त्यसम्म प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्य राखेको बताए ।
मुख्यमन्त्री कार्कीले गरिबीको कारण बालिकाहरूको शिक्षामा कम पहुँच र छोरीलाई बोझको रूपमा हेर्ने सोचले बालविवाह बढेको बताए । उनले शिक्षा र चेतनाको विकासबाट मात्र यो समस्या समाधान हुने बताउँदै दाइजो प्रथाको नाममा बालविवाहलाई प्रोत्साहन गर्ने गलत धारणा रोक्न आग्रह गरे । 'बालविवाह कानुनी अपराध हो र यसको अन्त्य आवश्यक छ,' उनले भने । उनले प्रदेश सरकारले छिट्टै कडा कानुन ल्याउने र विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालका प्रतिनिधिहरू, सामाजिक अभियन्ता बालकृष्ण पाण्डे, डा. गंगाधर अधिकारी, शिक्षाविद् निर्मला कोइराला लगायतको उपस्थिति थियो । सहभागीहरूले बालविवाह विरुद्धको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे ।
नेपाल सरकारले सन् २०३० सम्म देशलाई बालविवाह मुक्त बनाउने लक्ष्य राखेको छ । यो अभियान विश्वव्यापी रूपमा सञ्चालित छ र नेपालसहित तीन महादेशका करिब ३९ राष्ट्रहरूमा कार्यान्वयन भइरहेको छ ।
