केबलकार निर्माण क्षेत्रको बाँकी रुख काटियो, आन्दोलनरत समूहद्वारा ग्लोबल आइएमई बैंकमा धर्ना

माघ ३०, २०८१

आनन्द गौतम

The rest of the trees in the cable car construction area were cut down, sit-in at the Global IME Bank by protesting groups

ताप्लेजुङ — सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रुख कटान गरेको छ । बुधबार बिहान बटम स्टेसन माथिका रुखहरु कटान गरेको कम्पनीका एक प्रतिनिधिले जनाए ।

यसअघि गत जेठको पहिलो हप्ता (१ गते) ८० प्रतिशत रुख कटान गरेको थियो । बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रुख मात्रै बाँकी रहेको छ ।

वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो । तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रुख कटान गरिएको कम्पनीका प्रतिनिधिले बताएका छन् । 

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार ठुला रुख २१ सय १४ वटामा टाँचा लगाइएको थियो । ठुला, साना, पोथ्रा, पोथ्री गरी छ हजार रुख कटान हुने उल्लेख छ । रुख कटान भएको क्षेत्रमा आन्दोलनरत समूहले वृक्षरोपणसमेत गरेको थियो भने पहिलो चरणको रुख कटानप्रति आपत्ति जनाउँदै बन्द हडताल लगायतका कार्यक्रम गरिएको थियो । 

आन्दोलनरत समूहले रुख काटिएको विषयप्रति आपत्ति जनाउँदै अब सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।  

बटम स्टेसनको काम पनि जारी रहेको कम्पनीले जनाएको छ । सरकारी वार्ता टोली र नो केबलकार समूहबीच काम रोक्ने वा काम यथावत् राख्ने भन्ने विषयमा विवाद भएको थियो । उक्त विवादबीच भएको छ बुँदे सहमति पालना नगरको भन्दै नो केबलकार समूहले अहिलेको समितिसँग वार्ता गर्नुको औचित्य नरहेको निष्कर्षसहित दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उनीहरुले एक मात्र माग केबलकार खारेजी रहेकाले मन्त्रीस्तरीय भएमात्रै वार्ता गर्ने जनाएका छन् । तर सरकारले यसलाई प्राथमिकता दिएको छैन ।  

आन्दोलनरत समूहले सदरमुकाम फुङलिङमा ग्लोबल आइएमई बैंकमा धर्ना दिएको छ । धर्नाका कारण बैंकले दिने सेवा प्रवाह प्रभावित भएको छ । धर्ना सुरु भएपछि बैंकले सटर बन्द गरेको थियो । आन्दोलनरत समूहको दोस्रो चरणको कार्यक्रमअन्तर्गत कोशी प्रदेशका शाखाहरुमा धर्ना दिने कार्यक्रम छ । उनीहरुले फागुन ७ गतेसम्म धर्ना, पदयात्रा, फुङलिङ नगरपालिका घेराउ लगायतका कार्यक्रम घोषणा गरेका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully