मोटरसाइकल दुर्घटनामा शिक्षक र भीरबाट लडेर महिलाको मृत्यु

माघ २९, २०८१

आनन्द गौतम

A woman died after falling from a motorcycle accident

ताप्लेजुङ — छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमा ताप्लेजुङबाट धरान जाने क्रममा भएको दुर्घटनामा परी  शिक्षक र घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो ।

मेरिङ्देन गाउँपालिका-१ थिङ्लाबुको सिंहकाली माध्यमिक विद्यालयमा कार्यरत ४४ वर्षीय गणेशमान एभेङ लिम्बू ताप्लेजुङबाट धरान जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए । शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष महेन्द्र प्रकाश गौतमका अनुसार विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । लिम्बूको शव गाउँमै ल्याएर अन्त्येष्टि गर्ने तयारी रहेको मेरिङ्देन गाउँपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्यमान ओख्राबुले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मिक्वाखोला गाउँपालिका-५ पापुङ, तिलजुङकी ४३ वर्षीया तेजकला साँवा लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ । जंगलमा घाँस काटेर फर्कने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बस्नेतले जानकारी दिए । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully