विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाबीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रवर्द्धनका लागि समझदारी–पत्रमा हस्ताक्षर भएको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले समझदारी-पत्रमा बिहीबार हस्ताक्षर गरेका हुन् ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले मुलुकको आर्थिक तथा सामाजिक विकासमा लघु, घरेलु तथा साना उद्योगको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनका अनुसार नेपालका साना तथा मझौला उद्योगहरूले कुल ग्रार्हस्थ उत्पादनमा करिब २२ प्रतिशत योगदान गर्दै १७ लाख मानिसलाई रोजगारी प्रदान गरिरहेका छन् । यो समझदारीले व्यावसायिक विकास सेवाको प्रवर्द्धन, क्षमता विकास, संजाल विस्तार, समन्वय तथा साना तथा मझौला उद्योगहरूको दिगो विकास र व्यावसायिक वातावरण निर्माणमा टेवा पुर्याउनेछ जनाइएको छ ।
त्यसैगरी, उदय परियोजनाका टिम लिडर राणाले समझदारी पत्रले कोशी प्रदेशमा सक्रिय साना तथा मझौला उद्योगहरूलाई लक्षित गरी व्यवसाय विकास परामर्शदाता परिचालन गर्ने साझेदारीको रूपरेखा प्रस्तुत गर्ने बताए । परियोजनाले उद्योग व्यवसायको पुँजी पहुँच, लगानी तथा नवप्रवर्तन प्रवर्द्धनलाई सहज बनाउने विश्वास व्यक्त गरे ।
महासंघ कोशी प्रदेशले प्रदेशभित्रका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा व्यावसायिक संघ–संस्थासँग सहकार्य गर्दै साना तथा मझौला उद्योग प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस समझदारीले उद्योग व्यवसाय प्रवर्द्धनमा महासंघले खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा महासंघले गरेको छ ।
उक्त कार्यक्रम डाई उदय परियोजना, स्विस सरकार विकास सहयोग, नेपाल सरकार अर्थ मन्त्रालय तथा कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा डाई ग्लोबल, यूके लिमिटेडद्वारा कार्यान्वयन भइरहेको छ । सम्झौताले कोशी प्रदेशका साना तथा मझौला उद्योगलाई नयाँ अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
