हामीले रुख ढालेर एम्बुलेन्स रोकेका होइनौं : नो केबलकार समूह  

माघ २२, २०८१

लक्ष्मी गौतम

We didn't stop the ambulance by felling trees: No Cable Car Group

पाँचथर — ‘नो केबलकार’ समूहले सोमबार राति प्रसव व्यथा लागेकी गर्भवती बोकेको एम्बुलेन्स अवरोध हुनेगरी रुख ढालेर बाटो अवरोध आफूहरुले नगरेको दाबी गरेको छ । जिल्लामा गठित मुक्कुम्लुङ सहयोग संघर्ष समितिका जिल्ला संयोजक कमल हाङसरुम्वाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षले पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै आन्दोलन गरिरहेका अवस्थामा घुसपैठ गरी बदनाम गर्ने षड्यन्त्र स्वरुप यस्तो काम भएको दाबी गरे ।

अरुणपूर्वका ९ जिल्लामा यातायात बन्दको आहृवान गरेर संघर्ष गरिरहे पनि रुख ढालेर एम्बुलेन्स अवरोध गर्ने नीति आफूहरुको नरहेको विज्ञप्तिमा उल्लेख छ । ‘केबलकार बनाउन नहुने अडानसहित आन्दोलनमा उत्रेका निहत्था नागरिकमाथि दमन गर्ने सरकारले आफैं सुनियोजित रुपमा यस्तो काम गरेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

सोमबार राति मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार खण्डमा रुख ढालेर सडक अवरोध गरेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आलोचना चुलिएसॅगै आन्दोलनरत पक्षले विज्ञप्ति जारी गर्दै घटना आफूहरुले नगराएको दाबी गरेको हो । 

सडक अवरोधका कारण हिलिहाङ-२ को सिंहापुरदेखि सदरमुकाम फिदिम ल्याइँदै गरेकी १८ वर्षीया कल्पना जोगी सहितका बिरामी झण्डै ५ घण्टा रोकिएका थिए ।

जोगीलाई लिएर आउँदै गरेको एम्बुलेन्सका चालक नुपु शेर्पाले रुख ढलेको र एम्बुलेन्समा बिरामी चिच्याइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेसॅगै त्यो भिडियो यतिबेला भाइरल भएको छ । ढालिएको रुख प्रहरीले हटाएसॅगै जोगीलाई पाँचथर अस्पताल ल्याइएको छ । उनलाई सुत्केरी गराउने तयारी भइरहेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully