प्रदेश सांसदहरूको एक मत : ‘संघले प्रदेशलाई सधैं उपेक्षामात्रै गरेको छ ।’
विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचना ‘सेतो हात्ती’ भन्ने भाष्य नै गलत भएको दाबी गरेका छन् । कोशी प्रदेश सभाको ७ औं वार्षिकोत्सवका अवसरमा मंगलबार बोल्दै मुख्यमन्त्री कार्कीले संघीयता कम खर्चमा चल्ने संरचना भएको भन्दै अपुष्ट र नकारात्मक विचारहरू प्रवाह गरेर संघीयतामाथि नै प्रहार भइरहेको बताएका हुन् ।
उनले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा सरकार प्रतिबद्धता रहेको जिकिर गर्दै प्रदेशमा रहेका सबै दल यस विषयमा प्रतिबद्ध रहेको बताए । ‘केन्द्रीकृत राज्य व्यवस्थाबाट एकैचोटि विकेन्द्रीकृत व्यवस्थामा अघि बढ्दा कठिनाइहरू आउँछन् । ती समस्याहरू बिस्तारै हल हुँदै जान्छन्,’ उनले भने, ‘संघीयता नयाँ संरचना भएका कारण यसलाई स्थापित गर्न समय लाग्छ ।’
सभामुख अम्बरबहादुर विष्टले संघीय व्यवस्थाप्रति नै सर्वसाधारणमा वितृष्णा पैदा भइरहेको भन्दै जनताको मन जित्न प्रदेश सरकारलाई अधिकार सम्पन्न र समृद्ध बनाइनु अपरिहार्य रहेको बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पंचायती संरचनामा जति खर्च हुन्थ्यो, संघीय संरचनामा आधा मात्रै खर्च भइरहेको दाबी गरे । ‘प्रदेशलाई पाल्नै नसक्ने संरचनाका रूपमा नकारात्मक प्रचारको कुनै तुक छैन,’ उनले भने, ‘सरकार प्रदेश सभाप्रति जिम्मेवार छ ।’
कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल रहेको नेकपा माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रदेशलाई अधिकार सम्पन्न र समृद्ध बनाउने कुरामा संघीय सरकारको चासो र चिन्ता नदेखिएको आरोप लगाए । ‘अहिलेसम्म निजामती कर्मचारी ऐन छैन । प्रहरी ऐन बन्यो तर त्यो पनि कार्यान्वयन आएको छैन,’ उनले भने, ‘संघीयता अत्यावश्यक छ भनेपछि कार्यान्वयन गर्ने कुरामा किन उदासिन छ संघीय सरकार ?’
कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ, नेकपा एकीकृत समाजवादीकी सचेतक विद्या चाम्लिङ राई, जनता समाजवादीकी नेता निर्मला लिम्बूलगायतले प्रदेशलाई बलियो बनाउनका लागि संघीय सरकारको सहयोग अपरिहार्य रहेको बताएका थिए । उनीहरूको एकै स्वर थियो, ‘तर, संघले प्रदेशलाई सधैं उपेक्षामात्रै गरेको छ ।’
