रुख ढालेर सडक अवरोध, सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई बीच बाटैबाट फर्काइयो

माघ २२, २०८१

लक्ष्मी गौतम

The road was blocked by felling a tree, and the woman who was in labor pain was turned back from the middle of the road

पाँचथर — पाथिभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले  मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा रुख ढालेर सडक अवरोध गरेका छन् ।

मंगलबार राति रुख ढालेर बाटो अवरोध गरेका हुन् । सडक अवरोधका कारण हिलिहाङ–२ को सिंहापुरदेखि सदरमुकाम फिदिम ल्याइँदै गरेकी १८ वर्षीय कल्पना जोगीसहितका बिरामीको विचल्ली भएको छ ।

रातको २ बजे बिरामी लिएर आउॅदै गरेका चालक नुपु शेर्पाले बाटोमा रुख ढलेको भेटिएपछि बिहानसम्मै एम्बुलेन्स बाटैमा रोकिएको बताए। एम्बुलेन्स चालक शेर्पाले रुख ढलेको र एम्बुलेन्समा बिरामी चिच्याइरहेको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

चारवटा रुख ढालेर बाटो अवरुद्व गरिएकाले सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको छ । अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसुति गराउन नसकिएको त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । 

प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ । बाटो खुलेपछि बिरामीलाई पुन: फिदिम ल्याउने तयारी भइरहेको बताइएको छ । १८ वर्षीय जोगीलाई सोमबार बिहानैदेखि प्रसुति व्यथाले चापेको थियो ।

माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्दै आएको ‘नो केबलकार समूह’ले आजदेखि अरुण पूर्वका ९ जिल्लामा आमहड्तालको आह्वान गरेको । सरकारसॅग हिजोदेखि वार्ता गरे पनि बन्दलाई यथावत राख्ने बन्दकर्ता मध्येको नेपाल आदीवासी जनजाति महासंघका पाँचथरका अध्यक्ष सागर केरुङले बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully