पाथीभरामा 'नो केबलकार' पक्षबाट बन्दको आह्वान, पूर्वको जनजीवन प्रभावित

बन्द गराउँदै हिड्ने तीन जना दमकबाट पक्राउ

माघ २०, २०८१

लक्ष्मी गौतम

Bandh call by 'No Cable Car' side in Pathibhara, life of East affected

पाँचथर — पाथीभरा देवीको मन्दिरसम्म पुग्ने केबलकार निर्माण रोक्नुपर्ने मागसहित आन्दोलनरत संघसस्था र समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले सडक ठप्प पारेका छन् भने बजारमा समेत बन्दको प्रभाव देखिएको छ। 

माघ १० गते आन्दोलनरत समूहलाई सशस्त्र प्रहरीले गोली चलाएको विरोधमा माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात अवरुद्व गर्दै आएका आन्दोलनरत समूहले आइतबार अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेका हुन् । 

बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी र धनकुटा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रका मुख्य राजमार्गसँगै सहायक र भित्री सडकमा समेत बिहानैदेखि गाडी गुडेका छैनन् ।

पहाडी जिल्लामा बिहानैदेखि यातायात र ढुवानीका साधन ठप्प छन् भने झापाको विर्तामोड र सुनसरीको इटहरी लगायतका ठूला बजारमा आन्दोलनकारीले झण्डासहित सडकमा निस्केर बन्द गराइरहेका छन् । बन्द गराउने क्रममा प्रहरीले झापाको दमकबाट पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बूलाई आज बिहानै पक्राउ गरेको  छ । 

पाथीभरा मन्दिरमा केबलकार निर्माण गर्ने ठेक्का पाएको प्राइभेट लिमिटेड कम्पनीले काम सुरु गरेपछि त्यो क्षेत्र अशान्त बनेको हो । पछिल्लो समय केबलकार निर्माण प्रक्रियालाई सघाउन तल्लो फेदी नजिक सशस्त्र प्रहरीको टुकडी स्थापना भएपछि पटक –पटक झडप भएका छन् ।

पछिल्लो पटक भएको झडपमा घाइते भएका आन्दोलनकारीको उपचार तथा पक्राउ परेकाहरुलाई रिहाइसँगै पाथीभरा क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गरी केबलकार निर्माण प्रक्रिया स्थगित गर्न माग गर्दै बन्दको आह्वान भएको हो । माघ २२ गते सम्ममा पनि मागको सम्वोधन नगरे आमहड्ताल गर्ने तयारी भइरहेको आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष सागर केरुङले बताए ।

आदिवासी जनजाति महासंघ, किराँत याक्थुङ चुम्लुङ, १ नम्वर प्रदेश पुनः नामाङ्कन संघर्ष समिति लगायतका संघ संस्था केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनमा छन् । केबलकार निर्माण गर्दै प्रकृतिमाथि दोहन हुनका साथै त्यहाँको सांस्कृतिक सौन्दर्य गुम्मने आन्दोलनकारीको भनाइ छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully