‘नो केबलकार समूह’ सँग वार्ता गर्न कोशी प्रदेशका उद्योगमन्त्रीको अपिल  

माघ १५, २०८१

आनन्द गौतम

Koshi Pradesh Industries Minister's appeal to negotiate with 'No Cable Car Group'

ताप्लेजुङ — कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले ‘नो केबलकार समूह’ सँग तत्काल वार्ता गर्न प्रदेश सरकारद्वारा गठित वार्ता समितिलाई अपिल गरेका छन् । प्रदेशसभामा बोल्दै उनले गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयवस्तु फरक भएको भन्दै तत्काल वार्तामा बोलाउन अपिल गरे ।

‘म त्यही ठाउँमा राजनीति गरेर, समाजसेवा गरेर आएको हुँ,’ उनले भने, ‘बलुडाँडा काफ्लेपाटीदेखि ३० मिनेटमा हिँडेर पुगिन्छ, त्यो क्षेत्र युद्धग्रस्त क्षेत्र बन्नु भनेको केही न केही न्यायोचित ढङ्गबाट भएको छैन ।’ आफू पनि सरकारमा भएको उल्लेख गर्दै उनले वार्ताका लागि पहिल्यै समिति बनेकाले समिति मार्फत वार्तामा बोलाउन अपिल गरे । 

‘केही समूहले माग राख्दाखेरि बेवास्ता गरेको देखियो, त्यसका लागि म आफैँ सरकारमा भए पनि वार्ताको टोली पहिल्यै गठन भएको छ,’ हाङ्गामले थपे, ‘सहमति, सहकार्य, संवादको बाटोबाट कोशी प्रदेशमा गठित वार्ता टोलीका संयोजक र सदस्यलाई अनुरोध गर्न चाहन्छु ।’ उनले सङ्घीय सरकारसँगको विषय भएकाले घाइतेको उपचार गर्न पनि संघीय सरकारसँग अनुरोध गरे । 

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले कुनै आन्दोलन छलफल वा वार्ता गर्नुपर्ने प्रयोजनका लागि आर्थिक मामिलामन्त्री राम रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी सदस्य रहने गरी तीन सदस्यीय वार्ता समिति बनाएको छ । यसको सदस्य सचिवमा आन्तरिक मामिला मन्त्रालयका सचिव कमल थापा छन् । 

पाथीभरा क्षेत्रको घटनालाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत गम्भीरतापूर्वक लिएको र वार्ताको वातावरण बनाउने प्रयास भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले बताए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully